सप्तरीमा नयाँ सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा निर्माण सम्पन्न गरेको ३३/११ केभी, ६/८ एमभीए क्षमताको नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ। बुधबार साँझदेखि सञ्चालनमा आएको सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

करिब १२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी विद्युत् लाइन पनि निर्माण गरिएको छ। नयाँ पूर्वाधार सञ्चालनमा आएपछि खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाका कदमाहा, लालपट्टा, कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्नेछ। यसले भोल्टेज प्रोफाइलमा सुधार ल्याउनुका साथै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मधेश प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारका लागि यो महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले सरकारको लक्ष्य विद्युत् उत्पादन बढाउनु मात्र नभई उत्पादित विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पुर्‍याउनु रहेको उल्लेख गर्नुभयो।

मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र गतिमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासोलाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता कायम रहेको स्पष्ट पार्नुभयो।

खबरपाटी
खबरपाटी