ऊर्जा पूर्वाधारमा नेपाल–जाइका सहकार्य विस्तारको तयारी, नलगाड जलविद्युतमा पनि सहकार्यको प्रस्ताव

ऊर्जा पूर्वाधारमा नेपाल–जाइका सहकार्य विस्तारको तयारी, नलगाड जलविद्युतमा पनि सहकार्यको प्रस्ताव

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका आकिहिको बीच मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहयोगलाई थप विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटका क्रममा मन्त्री श्रेष्ठले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा जाइकाले विगतदेखि गर्दै आएको सहयोग र लगानीप्रति आभार व्यक्त गरे। उनले जाइकाको सहयोगमा निर्माण भएका कनकाइ सिँचाइ आयोजना र चन्द्र नहर परियोजना उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे।

मन्त्री श्रेष्ठले नागढुंगा सुरुङमार्ग निर्माणमा जाइकाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै अध्यक्ष आकिहिकोलाई धन्यवाद दिएका थिए। सुरुङमार्ग उद्घाटनको अवसरमा नेपाल आएका अध्यक्ष आकिहिकोले मन्त्री श्रेष्ठसँग ऊर्जा क्षेत्रका साझा हित, लगानी र भावी सहकार्यका विषयमा छलफल गरेका हुन्।

छलफलका क्रममा मन्त्री श्रेष्ठले नेपालको क्लिन एन्ड ग्रीन इनर्जीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जाइकाको सहयोग आवश्यक रहेको बताए। उनले नदी जलाधार क्षेत्रको गुरुयोजना निर्माण भइरहेको जानकारी दिँदै दीर्घकालीन ऊर्जा तथा जलस्रोत व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

भेटमा जाइकाका अध्यक्ष आकिहिकोले तनहुँ जलविद्युत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए। त्यसको जवाफमा मन्त्री श्रेष्ठले आयोजनाको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षको बजेटमा प्रसारण लाइन विस्तारलाई उच्च प्राथमिकता दिइएको जानकारी गराउँदै यसको लागि मास्टर प्लान तयार भइरहेको बताए। उनले विद्युत वितरण प्रणालीलाई थप सुदृढ बनाउने कार्य पनि अघि बढिरहेको उल्लेख गर्दै वैकल्पिक ऊर्जालाई नेपालको समृद्धिको महत्वपूर्ण आधारका रूपमा सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे।

उनले जापानी उच्च प्रविधिबाट निर्माण गरिएको कुलेखानी जलविद्युत आयोजनाको प्रशंसा गर्दै नलगाड जलविद्युत आयोजनामा समेत जाइकासँग सहकार्य गर्न आग्रह गरे। साथै, २०७२ सालको भूकम्पपछि नेपाललाई जाइकाले पुर्‍याएको सहयोगको स्मरण गर्दै मन्त्री श्रेष्ठले धन्यवाद व्यक्त गरे।

जाइकाका अध्यक्ष आकिहिकोले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग, लगानी र प्राविधिक सहकार्य गर्न आफ्नो संस्था इच्छुक रहेको बताए। उनले नयाँ ऊर्जा तथा पूर्वाधार परियोजनामा नवीन प्रविधि, अनुभव र लगानीमार्फत सहकार्य विस्तार गर्न तयार रहेको धारणा व्यक्त गरे।

खबरपाटी
खबरपाटी