फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको सङ्ख्या १ लाख ४० हजार नाघेको छ । फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने जिरोन्ड र ल्यान्ड्स क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै १ लाख १० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
यस्तै, सिमाना जोडिएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डढेलोका कारण थप ३० हजारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ ।
त्यस्तै २० हजारभन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । म्याड्रिडमा लागेको डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकलाई कठिनाइ भइरहेको छ । डढेलो निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जालमार्फत अवस्था अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै नियन्त्रणका लागि युरोपेली सङ्घ (ईयु) को नागरिक सुरक्षा संयन्त्र सक्रिय पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार चेक गणतन्त्र र स्लोभाकियाबाट दुईवटा ‘ब्ल्याक हक’ हेलिकोप्टरसहित थप प्राविधिक सहयोग फ्रान्स आइपुग्नेछ ।