काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप गतिशील, बलियो र व्यावसायिक बनाउन आगामी मौद्रिक नीति लचिलो, समयसापेक्ष र उद्यममैत्री हुनुपर्नेमा जोड दिनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भएको करिब एक घण्टाको छलफलमा प्रधानमन्त्री शाहले समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व तथा उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सुझाव दिनुभएको हो।
प्रधानमन्त्री शाहले सरकार र नेपाल राष्ट्र बैंकबीच प्रभावकारी समन्वय र सहकार्यबाट मात्रै मुलुकमा आर्थिक आत्मविश्वास अभिवृद्धि गर्न सकिने बताउँदै पुँजी बजारमा आबद्ध आम लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले मौद्रिक नीतिमा रहेका केही सीमित तथा जटिल प्रावधानहरूलाई खुकुलो पार्दै सेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, उद्योग, व्यवसाय र रोजगारी सिर्जनाका लागि साना तथा ठूला उद्यमीलाई बिना त्रास लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्न तथा बैंकहरूको ब्याजदर र कर्जा प्रवाहका सर्तहरूलाई उद्यममैत्री बनाउन आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका वर्गका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा विशेष प्राथमिकता दिई उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा सहभागी गराउने गरी मौद्रिक उपकरण परिचालन गर्नुपर्ने धारणा पनि राख्नुभयो।
छलफलका क्रममा गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीतिलाई व्यावसायिक, लचिलो र समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकार र राष्ट्र बैंकको साझा उद्देश्य मुलुकको अर्थतन्त्रलाई गति दिनु रहेको उल्लेख गर्दै कसैलाई अप्ठ्यारो पर्ने वा त्रसित बनाउने खालको नीति नलिइने स्पष्ट पार्नुभयो।
गभर्नर पौडेलले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभयो।