काठमाडौं - लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन शनिबार दिउँसो ३ बजेदेखि सञ्चालनमा आएको छ। प्रसारण लाइनमार्फत सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएपछि चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरेनीस्थित मार्कीचोक (न्यू मस्र्याङ्दी सबस्टेसन) देखि चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो। मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माण हुन नसक्दा लामो समयदेखि लाइन सञ्चालनमा आउन सकेको थिएन।
गत असार ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आयोजनास्थलको निरीक्षण गरी स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजनाका अधिकारीसँग समन्वय गर्दै निर्माणमा देखिएको अवरोध हटाउन पहल गर्नुभएको थियो। त्यसपछि टावर निर्माण कार्य सम्पन्न भएसँगै प्रसारण लाइन सञ्चालनमा आएको हो।
प्रसारण लाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ। साथै, विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै आपूर्तिको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ।
मन्त्री श्रेष्ठले बर्खायाममा मस्र्याङ्दी करिडोरका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताउनुभयो। यसअघि प्रसारण क्षमताको अभावका कारण कम क्षमतामा सञ्चालन गर्नुपरेका आयोजनाहरूलाई पनि यसबाट राहत पुग्ने उहाँले उल्लेख गर्नुभयो।
उहाँले सरकार र निजी क्षेत्रको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने भन्दै यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षा सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो।युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो प्रसारण लाइन सञ्चालनमा आएपछि मस्र्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह भई देशको विद्युत् प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।