काठमाडौं – अस्थायी युद्धविराम र समझदारी पत्र भंग भएसँगै अमेरिका र इरानबीचको सैन्य टकराव चरम उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इरानसँगको प्रारम्भिक सहमति सकिएको घोषणा’ गर्दै अमेरिकी सेनालाई इरानका विभिन्न रणनीतिक क्षेत्रमा शृङ्खलाबद्ध र ठुलो मात्रामा हवाई आक्रमण (एयरस्ट्राइक) गर्ने अनुमति दिएका छन्।
अमेरिकी सेन्ट्रल कमाण्डले इरानले हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमाथि गरेको आक्रमणको बदलास्वरूप थप शक्तिशाली आक्रमणहरू गरिएको पुष्टि गरेको छ। एयरफोर्स वान विमानमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान द्वन्द्वलाई पूर्ण–स्तरको परम्परागत युद्ध भन्न नमिल्ने दाबी गरे। ‘यो वास्तवमै त्यति ठुलो युद्ध होइन। यो इरानलाई परमाणुविहीन बनाउने अभियान हो।’
ट्रम्पले यदि अमेरिका पूर्ण सैन्य द्वन्द्वमा होमिनुपरे आफूहरूले निकै छिट्टै जित हासिल गर्ने दाबीसमेत गरे। इरान सम्झौताका लागि निकै आतुर रहेको तर उनीहरू सम्झौता पालना गर्न योग्य र विश्वसनीय छन् कि छैनन् भन्नेमा आफूलाई शङ्का रहेको ट्रम्पको भनाइ थियो। उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेका छन्, ‘यदि इरानले पुनः जहाजहरूमाथि बमबारी गरेमा स्थिति योभन्दा धेरै भयावह र खराब हुनेछ।’
बुधबार राति भएका हवाई आक्रमणहरू अघिल्लो दिनको तुलनामा भूगोल र क्षेत्रका हिसाबले निकै व्यापक र भीषण पाइएको अन्तर्राष्ट्रिय सञ्चार माधयमहरूले जनाएका छन्। अमेरिकी आक्रमणहरू मुख्य गरी इरानी स्लामिक रिभोलुसनरी गार्ड कप्र्सको तटीय राडार, एन्टि–शिप मिसाइल र हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी गरिएका छन्। आक्रमणका कारण इरानका धेरै तटीय सहरहरूमा विद्युत आपूर्ति बन्द भएको छ।
दक्षिण–पूर्वी र तटीय क्षेत्रः हर्मोज स्ट्रेटको निगरानी गर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण सहर सिरिकसहित बन्दर अब्बास, आबु मुसा, जास्क र क्युशम टापुमा ठुला विस्फोटका आवाजहरू सुनिएको समाचारमा उल्लेख छ। अर्को महत्त्वपूर्ण बन्दरगाह सहर चाबहारमा सैन्य तथा नागरिक पूर्वाधार र घाटहरूलाई लक्षित गरी भारी बमबारी गरिएको छ।
उत्तर–पूर्वी क्षेत्र (गोलेस्तान प्रान्त)ः इरानको सरकारी सञ्चार माध्यम आईआरआईबी का अनुसार अमेरिकी सेनाले अक्काला सहर बाहिर रहेको ‘आक तेके खान’ रेलमार्गको पुलमा सातवटा क्षेप्यास्त्र प्रहार गरेको छ, जसमध्ये दुईवटाले रेलवे ट्र्याकलाई ठुलो क्षति पु¥याएका छन्।
दुवै देशबीच युद्धको खतरा बढेपछि मध्यस्थता गरिरहेका क्षेत्रीय मुलुकहरू सम्झौता बचाउन चौबीसै घण्टा प्रयास गरिरहेका छन्। कूटनीतिक च्यानलहरू पूर्ण रूपमा बन्द नभए पनि अहिले निकै साँघुरो र निष्क्रिय अवस्थामा पुगेको समाचारमा उल्लेख छ।
एक क्षेत्रीय खुफिया अधिकारीका अनुसार पाकिस्तान र कतारका परराष्ट्र मन्त्रीहरूका साथै इजिप्टका खुफिया प्रमुखले वार्ताको नेतृत्व गरिरहेका छन्। साथै, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र साउदी अरेबियाका नेताहरू पनि द्वन्द्वलाई थप चर्किन नदिन कूटनीतिक प्रयासमा जुटेका छन्।