प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग–व्यवसाय, लगानी वातावरण र आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग उच्चस्तरीय छलफल गर्नुभएको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, उद्योग सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने विषयमा विस्तृत संवाद गर्नुभएको हो। उहाँले निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्दै रोजगारी सिर्जना र उत्पादन वृद्धि सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री शाहले आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना तथा उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको प्रतिबद्धता थियो।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई थप सहज बनाउने तथा सरकार र निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवाद आवश्यक रहेको धारणा राखेका थिए।
प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने बताउनुभयो। आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने उहाँले दोहोर्याउनुभयो।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायत निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सरकार र निजी क्षेत्रबीच भएको उक्त उच्चस्तरीय संवादले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीको वातावरण सुधार, निजी क्षेत्रमैत्री नीतिनिर्माण तथा आर्थिक सुधारका प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।