काठमाण्डौ – सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक गाडीको भाडा घटाएको छ । इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक गाडीको भाडा समायोजन गरेको हो ।
विभागले आज सूचना निकालेर सार्वजनिक गाडीको भाडा २ प्रतिशतले घटेको जानकारी गराएको हो । यसअघि सार्वजनिक गाडीको भाडादर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ रुपैयाँ रहेकोमा अहिले घटेर औसत १९२ रुपैयाँ ८३ रुपैयाँ कायम भएको छ । यो गिरावट प्रतिशतका आधारमा झन्डै १८ दशमलव २३ प्रतिशत हुन आउँछ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा धेरैले घटबढ हुँदा स्वचालितरूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर इन्धनको मूल्य १८ प्रतिशतभन्दा धेरैले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाडीमा २ प्रतिशतमात्र भाडा घटाएको छ ।
विभागका अनुसार यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणालीअनुसार ९ दशमलव ८ देखि १४ दशमलव ३ प्रतिशतसम्म भाडा बढ्नुपर्नेमा ५ प्रतिशत मात्रै बढाएका कारण अहिले घटाउँदा पनि त्यही दरमा घटाइएको हो । यो नयाँ भाडा दर आजैदेखि लागू हुने विभागले जनाएको छ ।