काठमाडौं – नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पताल बीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। एक वर्षका लागि लागू हुने सम्झौताअनुसार सदस्य तथा आश्रित परिवारले मेडिसिटीमा उपचार गराउँदा भर्ना तथा बाह्यरोगी सेवामा १० प्रतिशत छुट पाउनेछन्।
सम्झौताअन्तर्गत स्वास्थ्य सचेतना कार्यक्रम, बेसिक लाइफ सपोर्ट (BLS) तालिम, विशेष स्वास्थ्य प्याकेज तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल ले यस सहकार्यले व्यवसायिक समुदायको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास व्यक्त गरे भने मेडिसिटी अध्यक्ष डा. उपेन्द्र महतो ले अझ प्रभावकारी र सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।