जापानको बेन्चमार्क ब्याजदर ३१ वर्षयताकै उच्च विन्दुमा पुग्यो

जापानको बेन्चमार्क ब्याजदर ३१ वर्षयताकै उच्च विन्दुमा पुग्यो

जापानको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याजदर ३१ वर्षयताकै उच्च विन्दुमा पुर्‍याएको छ । विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि बैंक अफ जापान (बीओजे) ले नीतिगत ब्याजदर शून्य दशमलव ७५ प्रतिशतबाट बढाएर १ प्रतिशत पुर्‍याएको बीबीसीले जनाएको छ ।

यो वृद्धि सन् १९९५ यताकै धेरै हो । इरानसँगको अमेरिका–इजरायल युद्धले जीवनयापनको लागत बढाएपछि यस वर्ष अन्य देशका केन्द्रीय बैंकहरूले पनि ब्याजदर बढाएका छन् ।

जापानले सन् १९९० को दशकमा शेयर बजार र घरजग्गाको मूल्यमा आएको ठूलो गिरावट तथा आर्थिक मन्दीको सामना गर्न ब्याजदरमा व्यापक कटौती गरेको थियो । त्यसयता विगत दुई दशकदेखि जापानको बजार मूल्य घटिरहँदा र आर्थिक वृद्धिदर ठप्पजस्तै बन्दा ब्याजदर शून्यको नजिक रहँदै आएको थियो । तर बैंक अफ जापानले १७ वर्षपछि पहिलो पटक सन् २०२४ को मार्चमा ब्याजदर बढाएको थियो । त्यसयता बैंकले ब्याजदर बढाउँदै आएको छ ।

जापानका अर्थशास्त्री जेस्पर कोलले दुई दशक लामो मन्दीपछि देश अहिले मूल्यवृद्धिको चक्रमा प्रवेश गरेको बताउनुभएको छ । जापान मध्यपूर्वको तेल र ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ । अहिले जापानमा इन्धनको मूल्य बढ्दा बजार भाउ महँगिएको छ ।

केन्द्रीय बैंकको निर्णयले अमेरिकी डलर र युरोजस्ता बलिया मुद्राहरूको तुलनामा लगातार कमजोर बन्दै गएको जापानी मुद्रा ‘येन’ लाई स्थिर बनाउन सहयोग पुग्ने अर्थशास्त्रीहरूको अपेक्षा छ । यस वृद्धिका बाबजुद जापानको ब्याजदर अमेरिका र बेलायतजस्ता ठूला अर्थतन्त्रहरूको तुलनामा अझै पनि कम छ । अमेरिका र बेलायतमा ब्याजदर ३ प्रतिशतभन्दा माथि छ ।

खबरपाटी
खबरपाटी