कोलम्बियामा विमान दुर्घटना, सांसदसहित १५ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना, सांसदसहित १५ जनाको मृत्यु

काठमाडौं । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा सांसदसहित १५ जनाको मृत्यु भएको छ । १३ यात्रु र दुई चालक दलका सदस्य विमानमा रहेकोमा सबैको मृत्यु भएको हो । 
 
घटनालगत्तै उद्धारकर्ता घटनास्थलमा खटिएको भए पनि कोलम्बियाली अधिकारीहरूले कोही पनि जीवित फेला पार्न नसकेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । 

सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो । विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधवार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो 

 विमानमा कोलम्बियाली कांग्रेस सदस्य दियोहेनेस क्विन्टेरो पनि सवार थिए। उनी सन् २०२२ देखि राष्ट्रिय संसदका सदस्य थिए र सशस्त्र द्वन्द्वबाट प्रभावित पीडितहरूको प्रतिनिधित्व गर्ने ‘विशेष शान्ति निर्वाचन क्षेत्र’ बाट निर्वाचित भएका थिए।  

क्विन्टेरोको सञ्चार टोलीका अनुसार विमान बेपत्ता भएपछि उनी र उनका सहायकसँग सम्पर्क हुन सकेको थिएन। उनीहरूको मोबाइल फोनमा अन्तिम पटक कुकुतास्थित कामिलो दाजा विमानस्थलबाट उडानअघि स्थान देखिएको थियो।

नोर्टे दे सान्तान्देर प्रान्तको गभर्नर कार्यालयले दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

खबरपाटी
खबरपाटी