इण्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित पश्चिम बाण्डुङ रिजेन्सीको सिसारुआ उप–जिल्लामा शनिवार बिहान गएको विनाशकारी पहिरो र आकस्मिक बाढीमा परी कम्तीमा सात जनाको ज्यान गएको छ।
स्थानीय सञ्चारमाध्यमहरूकाअनुसार स्थानीय समयअनुसार शनिवार बिहान ३ः०० बजेतिर उक्त घटना घटेको हो। स्थानीय बासिन्दाहरूले एक्कासि ठूलो आवाज आएको र त्यसलगत्तै पाकिरकुनिङ गाउँबाट शुरु भएको पहिरो तथा हिलोको लेदोले पासिर कुडा गाउँलाई पुरेको जानकारी दिएका छन्।
प्रहरीको प्रारम्भिक तथ्याङ्कअनुसार शनिवार मध्याह्न १२ः०० बजेसम्म सात जनाको शव फेला पारिएको छ भने सयौँ मानिसहरू अझै हराइरहेका वा पुरिएको हुनसक्ने आशंका गरिएको छ। पहिरोका कारण दर्जनौँ घरहरू पूर्णरूपमा पुरिएका छन् र ठूलो भौतिक क्षति भएको छ। हाल संयुक्त खोज तथा उद्धार टोलीहरूले घटनास्थलमा खोजी कार्य जारी राखेका छन्।
यद्यपि, कठिन भू–बनोट, बाक्लो लेदो र थप वर्षाको सम्भावनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। स्थानीय प्रशासनले माटोको अवस्था अस्थिर रहेको भन्दै थप विपद् आउनसक्ने जोखिमलाई ध्यानमा राखी स्थानीयलाई बतर्क रहन र पहिरो प्रभावित क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।