शहरका आन्दोलनमा गाउँका सपनाको मूल्य

शहरका आन्दोलनमा गाउँका सपनाको मूल्य

नेपालको राजनीतिक र सामाजिक इतिहासमा समय–समयमा देखिने आन्दोलनहरूले शासन प्रणालीमात्र होइन, जनमानस र सोचमा समेत गहिरो प्रभाव पार्ने गरेका छन् । पछिल्लो पटक उठेको “जेन्जी आन्दोलन”—अर्थात् जेनरेशन जेड द्वारा अगाडि सारिएको राजनीतिक–सामाजिक चेतनाको यो स्वर—यस्तै एक ऐतिहासिक मोड सावित भयो। शिक्षाको गुणस्तर, बेरोजगारी, सुशासन, सामाजिक न्याय र डिजिटल अधिकारजस्ता मुद्दाहरूमा केन्द्रित यो आन्दोलन मूलतः शान्तिपूर्ण रूपमा सुरु भए तापनि, क्रमशः देशव्यापी चेतनामा परिणत भयो। राजधानी काठमाडौं आन्दोलनको केन्द्र रह्यो, तर यसको सबैभन्दा ठूला मूल्य चुकाउनेहरू भने राजधानीबाहिरका युवाहरू थिए—जसको जीवन काठमाडौंमा थियो, तर सपना गाउँको थियो ।

आन्दोलनमा सहभागी अधिकांश युवा मुलुकका विभिन्न जिल्ला र ग्रामीण भेगबाट आएका थिए। पढाइ, काम वा अवसरको खोजीमा उनीहरू राजधानी भित्रिएका थिए, र सहरका समस्या समाधानको आन्दोलनमा अग्रपंक्तिमा उभिएका थिए । तर जब आन्दोलन दमनतर्फ मोडियो, ज्यान गुमाउने, घाइते हुने र गिरफ्तार हुनेहरू प्रायः तिनै युवा बने—जो समाजको मौन हिस्सा थिए। यो तथ्यले एउटा गम्भीर प्रश्न उठाउँछ—राजधानीका आन्दोलन किन सधैं गाउँलेले सहनुपर्ने मूल्यमा टुंगिन्छन्रु गाउँमा बसेर सपना देख्ने, सहर आएर संघर्ष गर्ने, र फेरि त्यही सपना बलिदानमा परिणत गर्नु नेपाली राजनीतिक इतिहासको दुर्भाग्यपूर्ण निरन्तरता हो ।

यद्यपि, जेन्जी आन्दोलनको प्रभाव सिमित रहेन। यसले राजनीतिक सन्तुलनमा समेत धक्का दियो । व्यापक जनचाप र युवापुस्ताको सक्रियताले नेतृत्व तहमा परिवर्तन ल्यायो, जसको परिणामस्वरूप मुलुकमा नयाँ सरकार गठन भयो। ऐतिहासिक रूपमा पहिलो पटक नेपालले महिला प्रधानमन्त्री पाएको छ—यो परिवर्तन केवल एक पदस्थापन होइन, नयाँ सोच, समावेशीता र नेतृत्वको पुस्तान्तरणको संकेत पनि हो। मन्त्रीमण्डलमा युवा, विविध सामाजिक पृष्ठभूमि र प्रविधिमा दक्ष अनुहारहरूको प्रतिनिधित्व देखिन थालेको छ। जेन्जी आन्दोलनले उठाएका थुप्रै मुद्दाहरू नीतिगत छलफलको प्राथमिकतामा पर्न थालेका छन्, जसले परिवर्तनप्रतिको जनआशालाई थप बल दिएको छ ।

यद्यपि नेतृत्व परिवर्तनको उत्साहबीच, आन्दोलनको मूल्य कसले चुकायो भन्ने प्रश्न झनै गहिरिँदै जान्छ। सहरमा देखिएको राजनीतिक चेतनाको ऊर्जा गाउँले युवाहरूले बोकेका थिए। उनीहरूको योगदान नेतृत्व तहमा उचित ढंगले मूल्यांकन हुनुपर्यो ।  बलिदान गर्नेहरूको पहिचान, तिनको कथाको दस्तावेजीकरण, र राज्यको तर्फबाट सम्मान जनाउने पहलहरू न्यून छन् । यदि नयाँ सरकार, जसले परिवर्तनको झण्डा बोकेको छ, तिनै बलिदानी युवाको सपना बुझ्न असफल हुन्छ भने, आन्दोलनको उपलब्धि केवल शक्ति हस्तान्तरणमा सीमित हुनेछ ।
आज मुलुकसँग नयाँ प्रधानमन्त्री छन्, नयाँ मन्त्रीपरिषद् छ, र युवामा परिवर्तनप्रतिको आशा अझ बलियो छ। तर यथार्थ यही हो—परिवर्तन नाराबाट होइन, नीति र कार्यान्वयनबाट प्रमाणित हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र समान अवसरका सवालहरूमा देखिने सुधार नै आन्दोलनको मूल्य चुकाउनेहरूप्रतिको वास्तविक सम्मान हुनेछ ।

अन्ततः “शहरका आन्दोलनमा गाउँका सपनाको मूल्य” केवल भावनात्मक भनाइ होइन, यो वर्तमान सामाजिक संरचनाको प्रतिबिम्ब हो । सहरमा देखिने परिवर्तनको प्रकाश गाउँसम्म पुग्न सक्नुपर्छ । आन्दोलन सकिएको हुन सक्छ, तर तिनले देखेका सपना अझ बाँकी छन्—अब ती सपना पुरा हुने कि फेरि अर्को आन्दोलनको बीउ बन्ने भन्ने कुरा आजको नेतृत्वको निर्णय, निष्ठा र नीतिमा निर्भर छ ।

खबरपाटी
खबरपाटी