एजेन्सी । स्पेनको सामाजिक अधिकार मन्त्रालयले बार्सिलोनाका विङ्गर लामिन यामालविरुद्ध अनुसन्धान गर्न देशको अभियोजन कार्यालयलाई आग्रह गरेको छ।
यामालले आफ्नो १८औं जन्मदिनको पार्टीमा बौने( कम उचाइ ) व्यक्तिहरूलाई प्रस्तुति दिन व्यवसायीक रुपमा संलग्न गराइएको रिपोर्ट सार्वजनिक भएको छ।
यामालले आइतवार बार्सिलोनाबाट ५० किलोमिटर उत्तर–पश्चिममा पर्ने ओलिभेला नामक सानो सहरमा भाडामा लिएको घरमा पार्टी आयोजना गरेका थिए। पार्टीमा युट्युबरहरू, इन्फ्लुएन्सरहरू र बार्सिलोनाका केही सहकर्मी उपस्थित रहेको बताइएको छ।
यामालले बौनेपन भएका केही मनोरञ्जनकर्मीहरूलाई प्रस्तुति दिन व्यवसायीकरुपमा लिएका थिए।
स्पेनको आकन्ड्रोप्लासिया तथा अन्य अस्थि(विकृति सङ्घ (एडिइइ) ले त्यसलाई २१औं शताब्दीमा अस्वीकार्य भनेको छ।
सामाजिक अधिकार, उपभोक्ता मामिला र २०३० एजेन्डाअन्तर्गत पर्ने अपाङ्गता सेवा व्यवस्थापन महानिर्देशनालयले भनेको छ, ‘एडिइइले कानुनी उजुरी दायर गरेको छ। त्यसैले, यो महानिर्देशनालयले अभियोजन कार्यालयलाई अनुसन्धान गर्न र यस कार्यले कानुन तथा अपाङ्ग व्यक्तिहरूका अधिकार उल्लङ्घन गरेको हो कि होइन भन्ने निर्धारण गर्न आग्रह गरेको छ।’
एडिइइले भनेको छ, ‘हामी सार्वजनिक रूपमा बौने व्यक्तिहरूलाई मनोरञ्जनका लागि प्रयोग गरिएको घटनाको भर्त्सना गर्छौं । संस्थाले थप कानुनी कारबाही गर्ने छ । यस्ता कार्यले रूढीवादी धारणालाई कायम राख्छ, विभेदलाई बढावा दिन्छ र अपाङ्ग व्यक्तिहरूको छवि तथा अधिकारमा आँच पुर्याउँछ।’
तर, एक स्पेनिस रेडियोको अन्तर्वातामा त्यहाँ उपस्थित एक बौने प्रस्तोताले यामालको बचाउ गरे।
उनले भने,’हामीलाई कसैले अपमान गरेन, हामी शान्तिपूर्वक काम गर्यौँ। म बुझ्दिन यति ठूलो हल्ला किन गरिएको छ। हामी पनि सामान्य मानिस हौं, जो कानुनी रूपमा जे गर्न चाहन्छौं त्यो गर्छौं।
हामी मनोरञ्जनकर्मीका रूपमा काम गर्छौं। हाम्रो शारीरिक अवस्थाका कारण हामीले यो काम गर्न नपाउनेरु हामीलाई हाम्रा सीमाहरू थाहा छ र कहिल्यै त्यो पार गर्दैनौं । हामी कुनै मेलापातका खेलौना होइनौं।’
उनले कार्यक्रम एक घन्टा मात्र चलेको बताए र त्यसपछि प्रस्तोताहरू पनि पार्टीमा सहभागी भएका थिए।
उनले थपे,’हामी नाच्छौं, पेय पदार्थ बाँड्छौं, जादू देखाउँछौं । शोका विभिन्न प्रकार हुन्छन्। सबैले रमाइलो गरेका थिए।’
बार्सिलोनाका प्रवक्ताले यो निजी क्षेत्रसँग मात्र सम्बन्धित घटना भएकाले क्लब टिप्पणी गर्ने अवस्थामा नरहेको र जानकारी प्राप्त भएपछि क्लबले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने सक्ने बताएका छन्।
बार्सिलोनाको सोमवार सुरु भएको प्रि सिजन प्रशिक्षणमा यामाल सामेल भइसकेका छन्।