सुनमा सुगन्ध: जेठको अन्त्यमा क्यान्जिन गोम्पाको बाटो फूलले ढाकिएको

स–साना झाडी प्रजातिका गुलाबी लालीगुराँस ( Rhododendron lepidotum)

सुनमा सुगन्ध: जेठको अन्त्यमा क्यान्जिन गोम्पाको बाटो फूलले ढाकिएको

काठमाडौं- २०८२ सालको जेठको अन्तिम साता, लाङटाङ राष्ट्रिय निकुञ्जको बाटो हुँदै म क्यान्जिन गोम्पातर्फ उक्लिँदै थिएँ। यो समय वसन्तको अन्त्य र वर्षा यामको सुरुवातको सङ्गम हो। त्यो घडीमा आकाशमा हल्का बादल मडारिएका थिए, कुहिरो कहिले पन्छिन्थ्यो, कहिले झिनो पर्दाझैं टाँसिन्थ्यो। तर, यी सबै दृश्यभन्दा माथि उठेर मनमा बस्ने कुरा थियो—पाखाभरि फुलेका रङ्गीन हिमाली फूलहरू । 


 

ठूला र रूखमा फुल्ने राताम्य लालीगुराँसहरू त्यो बेला हराइसकेका थिए। तर, प्रकृतिले त्यो खालीपन भरिदिन स–साना झाडी प्रजातिका गुलाबी लालीगुराँस (जस्तै Rhododendron lepidotum) हरू फुलाइरहेकै थिए। ती फूलहरू न गन्धिला थिए, न भव्य, तर तिनमा थियो एउटा नम्र, मौन र सादगीपूर्ण सौन्दर्य—जसले मेरो थकित पाइला थप हलुका बनाइदियो।

कुनैकुनै मोडमा सेता फूलहरूले झुलिरहेको देखिन्थ्यो, सम्भवत: जंगली चेरी वा कराउँका प्रजातिका। कतै पहेँलो फूलहरूले हरियालीमा चमक थपिरहेका थिए। ती स–साना फूलहरू हेर्दा लाग्थ्यो, उनीहरू शान्त रूपमा बोलिरहेका छन्—"हामी यही छौं, तिमीलाई स्वागत गर्न।"

पदयात्रा सधैं शारीरिक परिश्रम मात्र होइन, आत्मिक संवाद पनि हो।

 

 

 

 

 

 

 

 

क्यान्जिन गोम्पाको बाटोमा देखिएका यी रङ्गीन फूलहरूले मेरो यात्रा केवल गन्तव्यसम्म पुग्ने मार्ग नभई, प्रत्येक पाइला महसुस गर्ने यात्रा बनाइदियो। ती फूलहरूले बताइरहेका थिए—जीवनको सुन्दरता ठूला क्षणहरूमा मात्र होइन, स–साना विवरणहरूमा पनि हुन्छ। 

    

यस्तो यात्रामा प्रकृतिले सुनमा सुगन्ध थपिदिन्छ। अनि यात्रुको मन—मुस्कानले भरिन्छ। जेठको अन्त्यमा हिमाली फुलहरूको बीचमा हिँड्ने त्यो अनुभूति आज पनि स्मृतिमा झल्किरहेको छ—शान्त, सरल र अतुलनीय।  

जति लेखे पनि थाक्दैनन् मेरा हातहरू, किनभने मनमा लुकेको अनुभूतिको संसार अझै अक्षरमा पोखिन बाँकी छ। लाङटाङ पुगेदेखि देखिएका हरेक दृश्य, हरेक हावा चलेको झोंका, हरेक पाइलाले टेकिएको धरती—सबै एक-एक गरेर कविताजस्तै गुनगुनिन्छन् मेरो भित्र। बनपाखा, ढुंगामुढा, खोल्साहरू, अनि त्यहाँको मौनता—यी सबै मेरा लागि स्वर्गीय आनन्दका प्रतीक बने। ती केवल प्राकृतिक सौन्दर्य मात्र होइनन्, ती मेरा लागि आत्माको स्पर्श थिए, जसले मलाई नयाँ आँखाले संसार हेर्न सिकायो। म ती क्षणलाई बिर्सन सक्दिन, बरु ती पलहरूलाई शब्दमार्फत जिउन चाहन्छु, बारम्बार ।

✍🏼 कल्पना सानु भट्टराई

खबरपाटी
खबरपाटी