विद्यालय शिक्षा र निजामती विधेयक निष्कर्षमा पुर्‍याउन एमालेले पहलकदमी लिन्छ : मुख्यसचेतक बर्तौला

विद्यालय शिक्षा र निजामती विधेयक निष्कर्षमा पुर्‍याउन एमालेले पहलकदमी लिन्छ : मुख्यसचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेले विद्यालय शिक्षा र संघीय निजामतीलगायतका विधेयक छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन पहलकदमी लिने भएको छ । एमाले संसदीय दलको बैठकले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयक लगायत र अन्य  विचाराधीन विधेयकहरूलाई गुणस्तरीय कानुन बनाउन प्रभावकारी पहलकदमी लिने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनका अनुसार संसदीय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखेर कुशलता र सक्रियताका साथ सम्पादन गर्न संसदीय दलको नेता ओलीले निर्देशन दिएका छन् । एमालेले  राष्ट्रिय महत्त्वका नीति, योजना र विषयहरूलाई संसदमार्फत सशक्त ढंगले उठान गर्ने निर्णय गरेको छ।

उनले भने,‘मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुता प्रति सदैव चनाखो रहँदै जनसरोकार र  राष्ट्रिय महत्त्वका निति ,योजना र  विषयहरूलाई संसद मार्फत सशक्त ढंगले उठान गर्ने निर्णय गरेको छ।’ 


 
यसैगरी संसदमा हुन सक्ने संसदीय मूल्यमान्यता , संस्कृति र नियमावली विपरित सत्यलाई असत्यले छोप्ने प्रवृत्ति र क्रियाकलापहरूको विपक्षमा सदैव उभिँदै  संसदलाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोको रुपमा स्थापित गर्दै अगाडि बढाउन जिवन्त भूमिका निर्वाह गर्ने निर्णय समेत भएको छ। शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनमा सरकारले बैशाख १९ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ। 
 

खबरपाटी
खबरपाटी