युक्रेनलाई अमेरिकाबाट धोका, रुसबाट खरिद गर्न थाल्यो तेल

युक्रेनलाई अमेरिकाबाट धोका, रुसबाट खरिद गर्न थाल्यो तेल

सन् २०२२ फेब्रुअरी २४ मा जब रुसले विशेष सैन्य अभियान भन्दै युक्रेनमा आक्रमण गर्न थाल्यो, तब अमेरिकाले विश्वभरका मुलुकलाई रुसमाथि प्रतिबन्ध लगाउन अपिल गर्‍यो । अमेरिकाले युरोपसँगै विश्वभरका मुलुकलाई रुसी तेल र ग्यास खरिद नगर्न भन्यो, साथै रुससँग कारोबार नगर्ने र विदेशमा रहेका रुसी सम्पत्ति फ्रिज गरिदिने होड नै चल्यो । 

युक्रेनलाई आक्रमण गरेकाले रुसलाई अमेरिका एक्लो बनाउन चाहन्थ्यो । अमेरिकी राष्ट्रपति जो बाइडेन युद्ध जारी रहँदै युक्रेन पनि पुगे र युक्रेनलाई शक्तिशाली हतियारहरू सहयोग गरिरहे ।

तर, यतिबेला विश्वलाई रुसमाथि प्रतिबन्ध लगाउन उक्साउने अमेरिका आफैँले मस्कोमाथिका प्रतिबन्धात्मक नियमहरू तोडेको छ । रुसविरुद्धको युद्धमा युक्रेनलाई सहयोग गरिरहेको अमेरिकाले नै रुसबाट तेल खरिद गर्न थालेको हो । 

अमेरिकाले रुसविरुद्धको युद्धमा युक्रेनलाई सहयोग गर्ने र आफैँले रुसबाट तेल खरिद गरेपछि अमेरिकी दोहोरो चरित्रको आलोचना पनि सुरु भएको छ । कतिपयले अमेरिकी यस कार्यलाई युक्रेनमाथि धोका भइरहेको टिप्पणी गर्न थालेका छन् ।

रुसी सञ्चारमाध्यम स्पुतनिक ग्लोबले दिएको जानकारीअनुसार अमेरिकाले गत अक्टोबरमा ३६ हजार ८ सय ब्यारेल र नोभेम्बरमा ९ हजार ९ सय ब्यारेल तेल रुसबाट खरिद गरेको छ । यसको लागत क्रमशः २७ लाख अमेरिकी डलर र ७ लाख ४९ हजार ५ सय डलर भएको बताइएको छ । 

वास्तवमा रुसबाट गरिएका यी आयातहरू प्रतिबन्धहरूको कार्यान्वयनको निरीक्षण गर्ने अमेरिकी ट्रेजरी अफिस अफ फरेन एसेट्स कन्ट्रोलद्वारा प्रदान गरिएको विशिष्ट इजाजतपत्रहरूमार्फत सम्भव भएको हो ।

सन् २०२२ को मार्चदेखि अमेरिकाले रुसी तेल, ग्यास र अन्य ऊर्जाहरूमा प्रतिबन्ध लगाएको थियो, साथै थप प्रतिबन्धहरू रुसी संस्था र व्यक्तिप्रति लक्षित थियो ।  

खबरपाटी
खबरपाटी