इजरायलले आक्रमण नरोकेसम्म थप बन्धक रिहाइ सम्भव नरहेको हमासको घोषणा

इजरायलले आक्रमण नरोकेसम्म थप बन्धक रिहाइ सम्भव नरहेको हमासको घोषणा

काठमाडौँ । हमासले बन्धक बनाएकाहरूलाई रिहाइ गर्न गम्भीर प्रयास भइरहेको अमेरिकाले बताइरहेका बेला हमासले भने यसलाई खारेज गरेको छ । हमासले गाजामा युद्ध अन्त्य गर्न इजरायल सहमत नभएसम्म बन्धकहरूको रिहाइ सम्भव नरहेको बताएको हो । 

अरबी भाषाको एक विज्ञप्तिमा हमासले भनेको छ, प्यालेस्टाइनका जनताले आक्रमण बन्द नभएसम्म बन्धक वा बन्दीहरूको आदानप्रदानको बारेमा थप वार्ता सुरु नगर्ने निर्णय गरेका छन् ।

इजिप्टको कायरोमा युद्धविरामका लागि वार्ता भइरहेको छ । बुधबार भएको वार्ताले कुनै नतिजा निस्कन सकेको छैन । वार्तामा हमासले केही दिनको युद्धविराममा सहमत नहुने बताएको हो ।

नोभेम्बरको अन्तमा छ दिनको युद्धविरामको क्रममा हमासले प्यालेस्टाइनी कैदीहरूसँगको आदानप्रदानमा १ सय ५ बन्धकहरूलाई रिहा गरेको थियो । गाजामा अझै पनि १ सय २० जना इजरायली बन्धक रहेको बताइएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले इन्धन सकिएको कारण उत्तरी गाजामा अहिले कुनै अस्पतालले काम नगरेको जनाएको छ । गाजामा हमास विरुद्ध अभियान चलाउँदै आएको इजरायली सेनाले गाजा शहरमा हमास नेताहरूसँग जोडिएको अर्को सुरुङको नेटवर्क फेला पारेको बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २ सय ४० जनालाई बन्धक बनाएको थियो । यस आक्रमणमा १ हजार २ सय भन्दा बढी इजरायली मारिएका थिए ।

इजरायलको आक्रमणबाट गाजामा हालसम्म २० हजार मानिसको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा फेरि एकपटक युद्धविराममा मतदान गर्ने तयारी भइरहेको छ ।

खबरपाटी
खबरपाटी