काठमाडौँ । भारतको उत्तर पूर्वी राज्यमा जोरम पिपल्स मुभमेन्ट(जेपीएम)ले सरकारले बनाउने भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ४० सदस्यीय मिजोरम विधानसभामा जेपीएमले २५ सिटमा जित हात पारिसकेको छ । मिजोरममा सरकार बनाउन २१ सिट आवश्यक पर्छ ।
निर्वाचन आयोगका अनुसार जेपीएम २ सिटमा अगाडि रहेको छ । सत्तारुढ मिजो नेसनल फ्रन्ट९एमएनएफ०ले भने नराम्रो हार बेहोरेको छ । अहिलेसम्म एमएनएफले ७ सिटमा जित हात पारेको छ भने ३ मा अगाडि रहेको छ । भारतीय जनता पार्टीले २ सिटमा जित हात पारेको छ । भारतीय राष्ट्रिय कंग्रेस भने १ स्थानमा मात्र अगाडि रहेको छ ।
यसअघि सन् २०१८ मा भएको विधानसभा चुनावमा एमएनएफले २६ सिट जित्दै सरकार बनाएको थियो । त्यस्तै कंग्रेसले नराम्रो हार बेहोर्दै ५ सिटमा खुम्चिएको थियो । कंग्रेसले २०१३ मा मिजोरममा ३४ सिटमा जित हात पारेको थियो । २०१८ मा जेपीएमले ८ सिटमा जित हात पार्दा भाजपाले १ सिटमा चित्त बुझाएको थियो ।
सन् १९८७ मा २३औं भारतीय राज्यका रूपमा स्थापित भएको मिजोरममा जेपीएमले पहिलो पटक सरकार बनाउन लागेको हो । जेपीएमबाट सेर्छिप क्षेत्रबाट चुनाव जितेका लाल्दुहोमा मुख्यमन्त्रीका दाबेदार रहेका छन् । मिजोरमका वर्तमान मुख्यमन्त्री तथा एमएनएफ प्रमुख जोरमथांगाले भने चुनाव हारेका छन् ।
अइजोल इस्ट-१ मा उनलाई जेपीएमका लाल थानसांगाले २ हजार १ सय १ मतान्तरले हराएका हुन् । जनताले परिवर्तन चाहेका कारण मिजोरममा जेपीएमले जित हात पारेको इस्ट मोजो डट कमले जनाएको छ । युवा पुस्ता एमएनएफ र कंग्रेस नेतृत्वको सरकारका पालामा भएको भ्रष्टाचारका कारण वाक्क भएको पनि इस्ट मोजोको विश्लेषण छ । जेपीएम नयाँ र भ्रष्टाचारमुक्त सरकारको वाचासहित चुनावमा होमिएको थियो।
जेपीएम ६ दलीय मोर्चा हो जसमा मिजोरम पिपल्स कन्फरेन्स, जोरम नेसनलिस्ट पार्टी, जोरम एक्सोडस मुभमेन्ट, जोरम डिसेन्ट्रलाइजेसन फ्रन्ट, जोरम रिफर्मेसन फ्रन्ट र मिजोरम पिपल्स पार्टी रहेका छन् । जेपीएम सन् २०१७ मा स्थापना भएको मिजोरमको नयाँ राजनीतिक मोर्चा हो । सन् २०१९ मा जेपीएम निर्वाचन आयोगमा दर्ता भएको थियो । जेपीएमले क्षेत्रीय अल्पसंख्यकको रक्षाका लागि आवाज उठाउँदै आएको छ ।
यसअघि सोमबार सार्वजनिक नतिजाअनुसार भाजपाले मध्य प्रदेश, छत्तीसगढ र राजस्थानमा सरकार बनाउने भएको छ । त्यस्तै कंग्रेसले तेलंगानामा पहिलो पटक भारत राष्ट्र समिति९बीआरएस० लाई हराउँदै सरकार बनाउने भएको छ ।