काठमाडौँ । हमास र इजरायलबीच युद्ध सुरु भएको ३७ औं दिनसम्म पुग्दा गाजा क्षेत्रमा मात्रै ११ हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको दाबी गरिएको छ । उक्त अवधिमा युद्धग्रस्त गाजाबाट १५ लाख प्यालेस्टिनी नागरिक विस्थापित भएका छन् ।
गत असोज २० ९अक्टोबर ७० मा इजरायलको दक्षिण क्षेत्रमा प्रवेश गरी हमासको आक्रमणमा १० नेपालीसहित १२ सय जना मारिएपछि इजरायलले युद्धको घोषणा गरेको थियो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको हवाई र स्थल आक्रमणमा परी शनिबारसम्म चार हजार चार सय बालबालिकासहित ११ हजार जना मारिएका छन् ।
इजरायली सेनाको आक्रमणमा परेको अल रफा अस्पतालसँग शनिबारदेखि सम्पर्क विच्छेद भएकाले मृत्यु भएकाहरूको थप विवरण आउन नसकेको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले जनाएको छ । इजरायलले भने गाजा क्षेत्रमा मारिएको संख्या तथ्यपरक नभएको दाबी गरेको छ । इजरायलका एक सैन्य अधिकारीले हमाससँग भएका चार हजार लडाकुको १० प्रतिशत मारिएको बीबीसीसँग दाबी गरेका छन् ।
इजरायलले हमासलाई सैन्य र राजनीतिक रूपमा अन्त्य गर्ने र बन्धक बनाइएका नेपाली विपिन जोशीसहित २ सय ४० जनालाई फिर्ता ल्याउन भन्दै दुई साताअघि गाजा क्षेत्रमा युद्ध गर्न इजरायली सेना पठाएको बताउँदै आएको छ । बन्धकहरूलाई छुटाउन दबाब दिन हजारौं इजरायली नागरिकले शनिबार राति तेल अभिभमा बृहत् र्याली निकालेका थिए । इजरायली सेनाले उत्तर र दक्षिण गाजालाई विभाजित गरेर गाजा सहरलाई घेरेको दाबी गरेको छ । ‘हामी गाजा सहरको मुटुमै तैनाथ छौं,’ इजरायली सेनाले भनेको छ, ‘हामीले उत्तरी गाजा क्षेत्रलाई घेरामा पार्न सफल भएका छौं ।’
संसारको सबैभन्दा घना बस्ती भएको क्षेत्रमध्येको एक गाजामा २३ लाख मानिस बस्छन् । भूमध्यसागरको तटमा इजरायल र इजिप्टको बीचमा रहेको यो क्षेत्रलाई ७ अक्टोबरदेखि नै इजरायलले हवाई, स्थल र जलमार्फत कडा नियन्त्रणमा राखेको छ । गाजाभित्र र बाहिर सामान र मानिसको आवतजावतमा प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसंघले गाजाका १० लाख बालबालिकाको जीवन ‘धागोमा झुन्डिएको’ बताएको छ । यहाँका अस्पतालहरूमा एकपछि अर्को आक्रमणपछि त्यहाँ आश्रय लिएकाहरू दक्षिण गाजातर्फ लागेका हुन् ।
हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार ३५ ठूला अस्पतालमध्ये २१ वटामा उपचार बन्द भएको छ । सबैभन्दा ठूलो अलसिफा अस्पतालले इन्धन अभाव भएको भन्दै शनिबारदेखि बमबारीमा परी गम्भीर घाइते भएकाको उपचार बन्द गरेको घोषणा गरेको छ । जहाँ ३९ शिशुहरू जीवनमरणको दोसाँधमा पुगेको अस्पतालको दाबी छ । ‘बिजुली छैन । मेडिकल उपकरणहरू रोकिए । विशेष गरी सघन कक्षमा उपचार भइरहेका बिरामीहरू मर्न थाले,’ सिफाका निर्देशक मोहम्मद अबु सेलमियाले समाचार संस्था एपीलाई भने, ‘अस्पतालमा गोली प्रहार भइरहेको छ ।’ यो अस्पताल परिसरभित्र आश्रय लिएका, स्वास्थ्य कर्मचारी र घाइते गरी २० हजार जना रहेको अस्पतालको भनाइ छ ।
इजरायलले सिफा अस्पताल हमासको मुख्य कमान्ड पोस्ट भएको बताएको छ । ‘आतंककारीहरूले त्यहाँका नागरिकहरूलाई मानव ढालका रूपमा प्रयोग गरिरहेका थिए । यसको मुनि बृहत् बंकरहरू स्थापना गरिएको छ । हमाससँग इन्धनको विशाल भण्डार छ । जुन उसले सुरुङहरूभित्र उज्यालो दिन भण्डार गरिरहेको छ,’ इजरायली सेनाले भनेको छ, ‘सिफा अस्पतालमा मानव ढाल बनाएकाहरूले शुक्रबार छोडिसकेका छन् ।’ आक्रमणपछि इजरायली सेनाले सिफा अस्पताल बन्द गरेको छ । अस्पतालको वरपरको क्षेत्रमा भारी लडाइँ जारी छ ।
हालसम्म इजरायलले २३ हजारभन्दा बढी हतियार प्रयोग गरी १४ हजारभन्दा बढी पटक आक्रमण गरिसकेको छ । जसमा हमासका वरिष्ठ कमान्डरहरूसहित दर्जनौं उच्च अधिकारीहरू मारिएको दाबी छ । यो युद्ध कति लामो समयसम्म चल्ने हो भनेर कसैले पनि बताउन सकिरहेको छैन । हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजालाई ‘उजाड टापु’ मा परिणत गर्ने धम्की दिएका थिए । गाजा क्षेत्रमा सर्वसाधारण र बालबालिकाको मृत्यु बढ्नुका साथै मानवीय संकट बढेपछि इजरायलको आलोचना भइरहेको छ ।
‘विश्वका नेताहरूले इजरायलको होइन, हमासलाई निन्दा गर्नुपर्छ । त्यो आतंकवादी संगठनले सयौं इजरायलीको निर्मम हत्या र दुई सयभन्दा बढी इजरायलीलाई बन्धक बनाएकाले इजरायल युद्धमा प्रवेश गरेको सम्झनुपर्छ,’ प्रधानमन्त्री नेतान्याहुले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंलसमक्ष भनेका थिए, ‘गाजा क्षेत्रका नागरिकलाई परेको हानिको जिम्मेवारी हमासको हो । इजरायलले आफ्ना नागरिकलाई बचाउन आफूसँग भएको सबै शक्ति प्रयोग गर्छ ।’ फ्रान्सेली राष्ट्रपति म्याक्रोंलले गाजामा भइरहेको बमबारी र सर्वसाधारणको हत्या रोक्न इजरायललाई आग्रह गरेका थिए । ‘बच्चा, महिला, वृद्धहरू बम विस्फोट गरी मारिएका छन्,’ उनले बीबीसीसमक्ष भनेका छन्, ‘हामी इजरायललाई युद्ध रोक्न आग्रह गर्छौं । युद्धविरामले इजरायललाई फाइदा पुर्याउँछ ।’
हमासका प्रवक्ता ओसामा हमदानले प्यालेस्टिनीविरुद्ध इजरायली आक्रमण र नरसंहार रोक्नका लागि मुस्लिम देशलाई इजरायलसँग सम्बन्ध तोड्न आह्वान गरे । ‘गाजामा मानवीय र चिकित्सा सहायता र इन्धन पठाउनुपर्छ,’ शनिबार साउदी अरबको राजधानीमा आपत्कालीन रूपमा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) र अरब लिगको संयुक्त शिखर सम्मेलनमा हमदानको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ, ‘प्यालेस्टिनी मुद्दालाई प्यालेस्टिनी अधिकारका आधारमा हल गरिनुपर्छ भन्ने एउटै स्वरमा उठाइनुपर्छ ।’
अरब–इस्लामिक शिखर सम्मेलनले गाजा युद्धलाई इजरायली आत्मरक्षाका रूपमा औचित्य दिन अस्वीकार गर्दै युद्ध अन्त्य गर्न आह्वान गरेको छ । अरबका नेताहरूले इजरायललाई हतियार निर्यात बन्द गर्न आह्वान गर्नुका साथै गाजा प्रवेश गर्न सहायताको माग गरेको छ । सम्मेलनले गाजामा इजरायलको आक्रमण रोक्नका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले ‘निर्णायक र बाध्यकारी प्रस्ताव’ ल्याउनुपर्ने माग राखेको छ ।