सरकारलाई सचेत गराउन पूर्वप्रधानमन्त्री खानको माग

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआई) का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गर्नुभएको छ ।

सरकारलाई सचेत गराउन पूर्वप्रधानमन्त्री खानको माग

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पिटिआई) का अध्यक्ष इमरान खानले सरकारले आगामी आम निर्वाचन स्थगन गर्नसक्ने भएकाले संविधान उल्लङ्घन हुन नदिन सरकारलाई सचेत गराउन माग गर्नुभएको छ । 

    नेता खानले आज भिडियो लिङ्कमार्फत आफ्नो पार्टीका कार्यकता तथा समर्थकलाई सम्बोधन गर्दै शासकहरूबाट भएको संवैधानिक प्रावधानको उल्लङ्घन रोकिनुपर्नेमा जोड दिँदै न्यायालयलाई त्यसमा हस्तक्षेप गर्न आग्रह गर्नुभएको हो । असुरक्षा र आर्थिक समस्यालाई देखाएर आम निर्वाचन स्थगन गर्न वर्तमान सरकार उद्यत रहेको आरोप पनि उहाँले लगाउनु भयो । 

    संविधानको उल्लङ्घनले विधिको शासन र मौलिक अधिकार हनन हुने बताउँदै पूर्वप्रधानमन्त्री खानले सरकारका गलत निर्णयमा अङ्कुस लगाउन तथा संविधानको रक्षाका निम्ति ठोस कदम चाल्न अनुरोध गर्नुभयो । 

    वर्तमान सरकारले संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै उहाँले आवधिक निर्वाचनको प्रत्याभूतिका निम्ति न्यायमूर्तिहरूले सरकारी बहानाबाजीलाई मान्न नहुनेमा जोड दिनुभयो । 

    सर्वोच्च अदालतको पाँच सदस्यीय इजलाशले गरेको निर्णयलाई सरकारले बेवास्ता गरेको बताउँदै नेता खानले आफूले जनतालाई वास्तविक स्वाधीनता दिन खोजेको र देश छाडेर कतै नभाग्ने अडान दोहो¥याउनुभयो । सरकारले आम जनतामा त्रास फैलाउन खोजेको आरोप लगाउँदै शासकविरुद्ध डटेर लाग्न आह्वान गर्नुभयो । 

    पाकिस्तानको निर्वाचन आयोगले आगामी महिनाका निम्ति निर्धारण गरिएएको उपनिर्वाचन आगामी अक्टोबर ८ सम्म स्थगन गरिएको घोषणा गरेपछि संविधान मिचिएको जिकिर गर्दै न्यायाधीशहरूलाई सरकारी कदम सच्च्याउने आदेशका निम्ति आग्रह गर्नुभएको एआरवाई न्युजले जनाएको छ । 

    यसैबीच, निर्वाचन आयोगले विदेशमा बसेका पाकिस्तानीबाट पार्टीलाई प्राप्त रकम फुकुवाका निम्ति पिटिआईले पेश गरेको निवेदन अस्वीकार गरेको छ । आयोगले विदेशबाट प्राप्त रकमलाई अवैध भन्दै जफत गर्ने घोषणा गरेको छ । आयोगले गत अगष्ट पार्टीलाई प्राप्त रकम अवैध भएको जनाएको थियो । रासस

खबरपाटी
खबरपाटी