काठमाण्डौ - राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत हिजो सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट शुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् ।
फुटबलप्रेमी तथा शुभचिन्तकले दिएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेल जीवन टुङ्ग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि बताएका छन् ।
विमलले सन् २०१२ मा बङ्गलादेशसँग खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका उनले नौ गोल गरेका छन् । उनले सन् २०१५ मा १९ वर्षमुनिको साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि जितेका थिए ।
घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका विमलले नेदरल्याण्ड्समा युवा फुटबल खेलेका थिए ।