काठमाण्डौ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समयसापेक्ष नरहेका र पुराना कानून खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानूनी सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ माथिको दफावार छलफलका उहाँले नयाँ कानून बनाउने तर पुराना कानून संशोधन तथा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ थपिएको बताउनुभयो ।
विभिन्न अध्ययन तथा प्रतिवेदनले खारेज गर्न सुझाव दिएका १५ वटा ऐन हटाउने प्रक्रिया अघि बढाइएको अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले एउटा कानूनले आर्थिक गतिविधि सहज बनाउने र अर्को कानूनले नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । तत्कालीन समय र परिस्थितिअनुसार बनेका पुराना ऐनहरू आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता ९एआई० को युगमा सान्दर्भिक छन् कि छैनन् भन्ने पुनरावलोकन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४, आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट ऐन २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन २०५५ लगायतका ऐन खारेज गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी आवश्यक व्यवस्था समेट्न मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ र भन्सार ऐन २०६२ मा संशोधन गर्ने प्रस्ताव अघि सारिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो ।
यसैबीच भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न सरकारले भन्सार सूचना प्रणाली र गाडी अनुगमन प्रणाली ९भीसीटीएस० लाई एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ ।
अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्यायले आजको छलफलका क्रममा भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका गाडीले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।