प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताउएका छन्। 

उनले नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताए। सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेको बताए।

प्रधानमन्त्रीले संसद्मा सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएपछि त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति भने नसच्याएको पोखरेलको आरोप छ। 

नेपाल र भारतबीच सीमा समस्याबारे दुवै पक्षबीच दस्तावेजीकरण भइसकेको उल्लेख गर्दै उनले सीमा विवाद नेपालको आफ्नै सरोकारको विषय भएको बताए।

यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्नेमा उल्टै नेपालको दाबी कमजोर पार्ने अभिव्यक्ति दिएको उनको भनाइ छ।

उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपाल–भारतबीच रहेका समस्याहरू, विशेषगरी सीमा विवाद समाधानको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

प्रधानमन्त्रीले विगतमा आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्शा राखेर सन्देश दिन खोजेको प्रसंग उल्लेख गर्दै पोखरेलले अहिलेको मुख्य दायित्व नेपालको वर्तमान सीमाङ्कनलाई सुरक्षित गर्नु रहेको बताए।

ग्रेटर नेपालको विषय इतिहाससँग जोडिएको भएपनि पछिल्लो समयको सीमाङ्कनको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ छ। यसैगरी पोखरेलले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीप्रति पनि आलोचना गरे।

आफ्नै पार्टीसँग संवाद गर्न छाडेका प्रधानमन्त्रीबाट प्रतिपक्षी दलहरूसँग संवादको अपेक्षा गर्न नसकिने उनको टिप्पणी छ। 

खबरपाटी
खबरपाटी