काठमाडौंमा मंसिर १ देखि राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौंमा मंसिर १ देखि राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं - बाल क्रिकेटको विकास तथा प्रतिभावान युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंस्थित गोकर्णेश्वर ग्राउण्डमा सञ्चालन हुनेछ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। जिल्ला स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजार र उपविजेता टोलीले रु. ३५ हजार प्राप्त गर्नेछन्। त्यस्तै, म्यान अफ द सिरिजलाई किटब्याग, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता ह्वाइट ड्रेसमा रातो बल प्रयोग गरी ४० ओभरको खेलाइनेछ। प्रतियोगिताका निर्देशक सुनिलमान अमात्यले नेपालमा पहिलोपटक अन्डर–१२ उमेर समूहको सेतो पोसाक र रातो बलमा आधारित प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिनुभयो।

त्यसैगरी, प्रतियोगिताका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको उद्घाटन खेल राइजिङ स्टार र सीईसी भक्तपुरबीच हुनेछ।

बाल क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान र भविष्यका राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताले नेपाली क्रिकेटको जग बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी