काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा नं. १५, स्वयम्भू डल्लुआवासस्थित सिद्धार्थ सडकमा रहेको सामुदायिक स्वास्थ्य सेवा परिषद्को २३औँ वार्षिक साधारण सभा शनिबार विभिन्न महत्वपूर्ण निर्णय, संस्थागत समीक्षा तथा सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ।
परिषद्का अध्यक्ष सहप्राध्यापक केशरबहादुर मानन्धरको अध्यक्षतामा आयोजित सभाको उद्घाटन काठमाडौँ महानगरपालिका वडा नं. १५ का कार्यवाहक वडाध्यक्ष ईश्वरमान डंगोलले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना सर्वसम्मत रूपमा पारित गर्नुका साथै संस्थाको संरचना र कार्यक्षेत्रलाई समयानुकूल व्यवस्थित बनाउन प्रस्तुत विधान संशोधन प्रस्तावसमेत पारित गरेको छ।
सभामा संस्थाको सेवा प्रवाह, आर्थिक पारदर्शिता, संस्थागत सुशासन, स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरणको व्यवस्थापन, विशेषज्ञ चिकित्सकीय सेवा तथा दक्ष जनशक्ति परिचालनका विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रममा परिषद्का उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै सामुदायिक स्वास्थ्य सेवाको विकासका लागि सदस्य, पदाधिकारी, चिकित्सक, कर्मचारी तथा स्थानीय समुदायबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो।
महासचिव दीपक चन्द्र गौतमले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गर्दै आधुनिक चिकित्सा उपकरणको व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्तिको परिचालन, भौतिक पूर्वाधार सुदृढीकरण र व्यवस्थापकीय सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
त्यसैगरी, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूले छलफल तथा सुझाव राखेपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका थिए।
सभालाई सम्बोधन गर्दै महासचिव गौतमले आर्थिक तथा सामाजिक अवस्थाका कारण कुनै पनि नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ परिषद् अघि बढिरहेको बताउनुभयो। संस्थाको दीर्घकालीन विकासका लागि आर्थिक पारदर्शिता, जिम्मेवार व्यवस्थापन, चिकित्सकीय सेवाको गुणस्तर र सेवाग्राहीको विश्वासलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
सभापति एवं परिषद्का अध्यक्ष सहप्राध्यापक मानन्धरले संस्थाको २३ वर्षको यात्रामा संस्थापक, पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य, चिकित्सक तथा कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले संस्थाको गौरवपूर्ण इतिहास संरक्षण गर्दै आधुनिक, गुणस्तरीय र आत्मनिर्भर सामुदायिक स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक वडाध्यक्ष ईश्वरमान डंगोलले परिषद्ले स्थानीय समुदायमा पुर्याउँदै आएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै संस्थाको विकास, समन्वय तथा सेवा विस्तारका लागि वडा कार्यालयका तर्फबाट सम्भव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पूर्वमन्त्री जीवनराम श्रेष्ठले स्वास्थ्य, शिक्षा र सामाजिक सेवा समाज विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सामुदायिक स्वास्थ्य संस्थाहरूले स्थानीय जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
त्यसैगरी, परिषद्का प्रमुख सल्लाहकार प्रा. डा. बुलन्द थापाले आधुनिक चिकित्सा प्रविधि, विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको उचित व्यवस्थापनबाट मात्र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताउनुभयो। पूर्वअध्यक्ष हरिगोपाल श्रेष्ठले संस्थाको स्थापनाकालीन योगदान र इतिहासको सम्मान गर्दै नयाँ पुस्तालाई संस्थाको विकास तथा नेतृत्व प्रक्रियामा सहभागी गराउनुपर्ने धारणा राख्नुभयो।
उत्कृष्ट चिकित्सक तथा कर्मचारी सम्मानित
सभाको विशेष अवसरमा परिषद्ले उत्कृष्ट सेवा र व्यावसायिक योगदान पुर्याउने चिकित्सक तथा कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
‘हरिगोपाल–मेनका श्रेष्ठ उत्कृष्ट चिकित्सक पुरस्कार’ बाट मुटुरोग विशेषज्ञ डा. सन्तोष लाल श्रेष्ठ र छालारोग विशेषज्ञ डा. सञ्जय शाक्य सम्मानित हुनुभएको छ।
त्यस्तै, ‘केशरबहादुर–रञ्जना उत्कृष्ट कर्मचारी पुरस्कार’ बाट अहेब सत्यदेवी गुरुङ र ल्याब असिस्टेन्ट लक्ष्मण महर्जन पुरस्कृत हुनुभएको छ।
कार्यक्रममा रोटरी क्लब अफ कपनका अमर हाडा तथा रोटरी क्लब अफ न्यूरोडका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले सामुदायिक स्वास्थ्य सेवा प्रवर्द्धनका लागि सामाजिक संघसंस्था, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
सभाले आगामी दिनमा आधुनिक स्वास्थ्य प्रविधिको प्रयोग, विशेषज्ञ चिकित्सकीय सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, स्वास्थ्य पूर्वाधार विकास, आर्थिक अनुशासन तथा सेवाग्राहीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा परिषद्का साधारण, आजीवन तथा मानार्थ सदस्य, स्थानीय समाजसेवी, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, रोटरी क्लबका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन परिषद्की सचिव निशा अधिकारी थापा गर्नुभएको थियो।
२३औँ वार्षिक साधारण सभाले संस्थाको विगतको उपलब्धिको समीक्षा गर्दै विधान संशोधन, संस्थागत सुशासन र सेवा विस्तारका निर्णयमार्फत परिषद्लाई थप व्यवस्थित, आत्मनिर्भर र समुदायप्रति उत्तरदायी स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ।