काठमाडौं – नेपालको जनकपुरधामदेखि भारतको अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ ।
भारतीय रेल मन्त्रालयले नेपालको जनकपुरधामदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ । सीमापार रेल सञ्जाल विस्तार गर्ने तथा धार्मिक पर्यटन र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भारतले यो निर्णय गरेको हो ।
कुल ६०४ किलोमिटर दुरी तय गर्ने यो रेल सेवा हप्ताको एक दिन सञ्चालन हुनेछ । मन्त्रालयका अनुसार, यो रेल प्रत्येक शनिबार जनकपुरधामबाट प्रस्थान गर्नेछ भने सोमबार भारतको अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्ने समयतालिका तय गरिएको छ ।
बिहार र उत्तर प्रदेशका विभिन्न महत्त्वपूर्ण सहरहरू हुँदै गुड्ने यस रेलको जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा व्यावसायिक बिसौनी रहनेछ ।
नयाँ रेल सेवाको सुरुवातसँगै तीर्थयात्री, पर्यटक, विद्यार्थी तथा पारिवारिक र व्यावसायिक कामले दुई देश ओहोरदोहोर गर्ने यात्रुहरूलाई ठूलो राहत मिल्नेछ ।