काठमाडौं - अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा रिपब्लिकन सांसदहरूले इरान युद्ध सञ्चालन गरेको विषयलाई लिएर रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल पारेका छन्। यसबाट मध्यावधि निर्वाचनमा पार्टीले पराजय व्यहोरेको केही दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्मा राहत मिलेको छ।
प्रतिनिधिसभामा महाभियोग प्रस्ताव न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो। यससँगै हेग्सेथमाथि औपचारिक महाभियोग आरोप लगाउने विषयमा बुधबार हुने भनिएको मतदान रोकिएको छ। ट्रम्पका आलोचक रिपब्लिकन सांसद थोमस म्यासीले पेस गरेको प्रस्तावलाई आफ्नै पार्टीका सांसदहरूले समेत समर्थन गरेनन्।
म्यासीले पेस गरेको प्रस्तावमा काङ्ग्रेसको स्वीकृतिबिना इरान युद्ध सञ्चालन गरेको, अधिकारको दुरुपयोग गरेको तथा यमनका हुथी विद्रोही र लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएका डुङ्गामाथि आक्रमण गरेको आरोपसहित आठवटा विषय समेटिएका थिए। सिनेटर मार्क केलीलाई कारबाही गर्ने प्रयासमार्फत अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजेको आरोप पनि लगाइएको थियो।
हेग्सेथले महाभियोग प्रयासलाई राजनीतिक प्रहसन भन्दै आफूमाथिका आरोप अस्वीकार गरेका छन्। उनले इरान, यमन र भेनेजुएलाविरुद्धका सैन्य कारबाहीको बचाउ गर्दै आवश्यक परे फेरि पनि त्यस्ता कारबाही सञ्चालन गर्ने बताए।
राष्ट्रपति ट्रम्पले हेग्सेथको कार्यसम्पादनको प्रशंसा गर्दै मतदानको परिणामलाई विजयका रूपमा स्वागत गरेका छन्। उपराष्ट्रपति जे डी भान्सले पनि रक्षामन्त्रीले महाभियोग लगाउनुपर्ने कुनै अपराध नगरेको बताएका छन्।
आगामी जनवरीमा डेमोक्रेटहरूले काङ्ग्रेसको नियन्त्रण लिएपछि महाभियोग प्रयास पुनः अघि बढाउन सक्ने सम्भावना भने कायमै छ। ट्रम्प समर्थित उम्मेदवारसँग पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएका प्रस्तावक म्यासीले आफ्नो कार्यकाल सकिएपछि काङ्ग्रेस छोड्नेछन्।