भाइटीकामा काठमाण्डौ र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन

भाइटीकामा काठमाण्डौ र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन

काठमाण्डौ - सशस्त्र प्रहरी बल, नेपालले आज भाइटीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

आज भाइटीकामा आवतजावत गर्ने यात्रुका लागि काठमाण्डौ र भक्तपुरमा सहजताका लागि तीन वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । सार्वजनिक गाडी कम चल्ने र चलेका गाडीमा भिडभाड हुने भएकाले निःशुल्क बस सेवा सञ्चालनबाट राहत पुग्ने सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो ।

सशस्त्रले काठमाण्डौ र भक्तपुरमा निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने गरी व्यवस्था मिलाएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न ठाउँका यात्रुलाई सेवा प्रदान गर्नेछ ।

त्यसैगरी प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ । यस्तै, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने बसले स्वयम्भू, कलङ्की, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलङ्की र स्वयम्भूसम्म सेवा दिनेछ ।

सशस्त्र प्रहरी बल, नेपालले यसअघि दशैँमा पनि निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । 

खबरपाटी
खबरपाटी