काठमाडौं - आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ।
शीर्ष ४ को सम्भावना समाप्त भएको अवस्थामा क्यानडालाई पराजित गर्दै शीर्ष ६ मा पुग्ने सम्भावना बलियो बनाउनु र ओडीआई मान्यता जोगाउन लाग्नु नेपालको मुख्य लक्ष्य हुनेटछ।
मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा हुने यो प्रतिस्पर्धा दुवैका लागि महत्वपूर्ण २ अंक जोड्ने अवसर त हो नै, लिग-२ को शीर्ष ६ भित्र अटाउन र ओडीआई मान्यता जोगाउन पनि दुबै टिमलाई जित बाहेकको विकल्प छैन।
ओमानले शुक्रबार क्यानडालाई ४१ रनले पराजित गरेपछि नेपालको शीर्ष चारमा रहँदै विश्वकपको ग्लोबल छनोटमा सीधै प्रवेश पाउने सम्भावना समाप्त भएको थियो । त्यसकारण शीर्ष ६ भित्र रहेर लिग-२ बाटै ओडीआई मान्यता जोगाउने सम्भावनालाई नेपालले आफ्नो मुख्य लक्ष्य छ।
जारी लिग २ चक्रको आफ्ना अन्तिम चार खेलमध्ये तीनमा जित निकाल्न सके नेपाल शीर्ष ६ भित्र उटाउने छ। यद्यपि, लिग-२ बाटै आवश्यक लक्ष्य हासिल गर्न नसके नेपालका लागि विश्वकप छनोट प्लेअफमार्फत अघि बढ्ने अर्को विकल्प भने बाँकी रहने छ।
नेपालले लिग–२ मा पछिल्लो समय अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा यो कठिन अवस्था आएको हो। जुलाईमा नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग खेलेका चारवटै खेलमा पराजित भएपछि नेपाली क्रिकेटमा कप्तानी सहित टिममा पनि हेरफेर गरिएको थियो।
विदेशी भूमिमा लिग–२ अन्तर्गत खेलेका २० खेलमध्ये नेपालले १४ खेल गुमाइसकेको छ। पछिल्ला ८ अवे खेलमा पनि नेपालले आफ्नो पक्षमा नतिजा हात पार्न सकेको छैन। तर, पछिल्लो लयले नेपालको आत्मविश्वास भने बढेको छ।
मलेसियामा आयोजित एसीसी प्रिमियर कपमा उपाधि जितेको नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा स्थान बनाएको थियो। जापानमा आयोजित एसियाली खेलकुदमा अफगानिस्तानमाथि निकालेको जितले पनि टोलीको मनोबल बढाएको छ।
ओमान एसंगको अभ्यास खेलमा पनि नेपालको प्रदर्शन प्रभावशाली रह्यो। नेपाल र क्यानडा सन् २०२४ मा क्यानडामा भएको लिग–२ शृङ्खलामा दुईपटक भिडेका थिए, जसमा दुवै खेलमा नेपाल पराजित भएको थियो। ओडीआई क्रिकेटमा यी दुई टोलीबीच भएका ५ मध्ये नेपालले ३ तथा क्यानडाले २ खेल जितेको छ ।
आठ टोली सहभागी लिग–२ मा नेपाल अहिले ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ। क्यानडाले ३३ खेलबाट २५ अंक जोडेको । नेपाल र क्यानडाबीचको अन्तर केवल एक अंक छ।
यस्तो अवस्थामा क्यानडाविरुद्धको जितले नेपाललाई तालिकामा माथि उक्लिने अवसर दिने छ। तर, हारले शीर्ष छभित्र लिग २ समाप्त गर्ने लक्ष्यलाई थप कठिन बनाउने छ।