काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सञ्चिता ज्ञवालीले लुम्बिनी प्रदेशअन्तर्गत ३५ वर्षमुनि महिला क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
ज्ञवालीले आफ्नो उम्मेदवारी घोषणा गर्दै बीपी कोइरालाको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को आदर्श तथा पार्टीका अग्रज नेताहरूको योगदान र शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै केन्द्रीय राजनीतिमा योगदान पुर्याउने उद्देश्यले चुनावी मैदानमा उत्रिएको बताएकी छन्।
इन्जिनियरिङ क्षेत्रको प्राविधिक पृष्ठभूमि रहेकी ज्ञवालीले स्थानीय तहमा दुई वर्ष निरन्तर जनतामाझ रहेर काम गरेको अनुभवलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेकी छन्। उनले स्थानीय तहमा काम गर्दा नागरिकका दैनिक आवश्यकता, स्थानीय विकासका सम्भावना तथा ग्रासरुट तहका समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गरेकी छन्।
ज्ञवालीले नेपाली कांग्रेसलाई समयसापेक्ष, प्रविधिमैत्री र युवामुखी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेकी छन्। स्थानीय तहका कार्यकर्ता र तल्लो तहको आवाजलाई केन्द्रीय नेतृत्वसम्म पुर्याउने, युवा तथा महिलाको निर्णय प्रक्रियामा सहभागिता बढाउने र लुम्बिनी प्रदेशको समृद्धिका लागि योगदान गर्ने आफ्नो मुख्य संकल्प रहेको उनको भनाइ छ।
उनले आफूलाई स्थानीय तहको कार्यअनुभव, प्राविधिक ज्ञान र सामाजिक सेवाको अनुभवसहित अघि बढेकी युवा उम्मेदवारका रूपमा प्रस्तुत गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत तथा समर्थनका लागि अपील गरेकी छन्।