काठमाडौँ - सरकारले बालबालिकाको वैकल्पिक हेरचाह प्रणालीलाई परिवारकेन्द्रित, अधिकारमा आधारित र तथ्याङ्कमा आधारित बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय वर्गीकरण प्रणाली (ICare Guideline) लाई नेपालको सन्दर्भअनुकूल बनाउँदै राष्ट्रिय तथ्याङ्क प्रणालीमा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ।
बालबालिकालाई संस्थागत हेरचाहमा राख्नुभन्दा परिवारमै पुनर्मिलन गराउने, नातेदारको संरक्षणमा राख्ने तथा संरक्षक परिवारमार्फत हेरचाहको व्यवस्था गर्ने नीतिलाई सरकारले प्राथमिकता दिएको छ। संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने सरकारको दृष्टिकोण छ।
बालबालिकाको वैकल्पिक हेरचाहको अन्तर्राष्ट्रिय वर्गीकरणलाई नेपालको सन्दर्भमा अनुकूलन गर्ने विषयमा आयोजित राष्ट्रिय परामर्श कार्यशालालाई सम्बोधन गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकाको संरक्षण, सुरक्षा र अधिकार सुनिश्चित गर्नु राज्य, परिवार र समाजको साझा दायित्व भएको बताउनुभयो।
मन्त्री बादीले प्रत्येक बालबालिकाले हिंसा, दुर्व्यवहार, शोषण तथा बेचबिखनबाट मुक्त भई सुरक्षित र पारिवारिक वातावरणमा हुर्कन पाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि प्रभावकारी नीति, संस्थागत व्यवस्था र विश्वसनीय तथ्याङ्क प्रणाली आवश्यक रहेको बताउनुभयो।
उहाँले वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको वास्तविक सङ्ख्या, अवस्था र उनीहरू परिवारबाट अलग हुनुपरेका कारणको यथार्थ पहिचानबिना प्रभावकारी योजना निर्माण र स्रोत विनियोजन सम्भव नहुने स्पष्ट पार्नुभयो। बाल संरक्षणका कार्यक्रम अनुमानमा होइन, प्रमाण र तथ्याङ्कका आधारमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
मन्त्री बादीका अनुसार सरकारले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणाली तथा सामाजिक सूचना व्यवस्थापन प्रणाली (CPIMS/SIMS) लाई स्थानीयकरण गरी प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। यसले बालबालिकाको अवस्था पहिचान, संरक्षणको आवश्यकता मूल्याङ्कन तथा नीतिगत निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
ICare Guideline मार्फत बालगृह, पालनपोषणमा आधारित हेरचाह (Foster Care), नातेदारको हेरचाह (Kinship Care), धर्मपुत्र तथा धर्मपुत्री र अनौपचारिक संरक्षणलगायत वैकल्पिक हेरचाहका विभिन्न स्वरूपलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिभाषित तथा वर्गीकरण गर्न सकिनेछ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि (UNCRC) तथा बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गनिर्देशनप्रति प्रतिबद्धता जनाउँदै आएको सन्दर्भ उल्लेख गर्दै मन्त्री बादीले बालगृहको सञ्चालन तथा व्यवस्थापनमा समेत पारिवारिक पुनर्मिलन र परिवारमा आधारित हेरचाहलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
उहाँले ICare का मानक सूचक निर्माण, विद्यमान कानुनी व्यवस्थाबीच सामञ्जस्यता, व्यक्तिगत घटना दर्ता तथा तथ्याङ्क प्रणाली (CRVS) र CPIMS/SIMS को स्थानीयकरण एवं राष्ट्रिय तथ्याङ्क प्रणालीसँग एकीकरणका लागि स्पष्ट र कार्यान्वयनयोग्य मार्गचित्र तयार गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्राविधिक नेतृत्वमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, नागरिक समाज र विकास साझेदारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री बादीले कुनै पनि बालबालिका परिवारको न्यानो संरक्षण र सुरक्षित वातावरणबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।
यस पहलबाट बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी तथ्याङ्कमा एकरूपता कायम हुनुका साथै तीनै तहका सरकारलाई प्रमाणमा आधारित बाल संरक्षण नीति, योजना तथा कार्यक्रम निर्माण र बजेट विनियोजन गर्न महत्वपूर्ण आधार तयार हुने अपेक्षा गरिएको छ।