लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्नेमा मन्त्री बादीको जोड, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध

लैङ्गिक हिंसा अन्त्यलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्नेमा मन्त्री बादीको जोड, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध

काठमाडौँ - लैङ्गिक हिंसालाई सामाजिक समस्या वा मानवअधिकारको उल्लङ्घनमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्र, उत्पादकत्व र समग्र विकाससँग जोडेर सम्बोधन गर्नुपर्नेमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जोड दिनुभएको छ।

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा आयोजित राष्ट्रिय प्यानल छलफललाई सम्बोधन गर्दै मन्त्री बादीले हिंसापीडितले समयमै न्याय, संरक्षण र पुनर्स्थापना नपाउँदा त्यसको असर व्यक्ति र परिवारमा मात्र नभई समग्र राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा पर्ने बताउनुभयो।

उहाँले लैङ्गिक हिंसाको अन्त्य, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिततालाई राज्यको प्राथमिक दायित्वका रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै हिंसामुक्त समाज निर्माणलाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्ने बताउनुभयो।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र ५ प्रतिशतले यौन हिंसा भोगेको तथ्य प्रस्तुत गर्दै मन्त्री बादीले हिंसा भोगेका ५८ प्रतिशत महिलाले कसैसँग सहयोग नमागेको वा न्यायको खोजी नगरेको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याउनुभयो।

सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानुनी सहायताको अभाव, न्यायिक प्रक्रियाको उच्च खर्च र आर्थिक परनिर्भरताका कारण हिंसापीडित महिलाहरू न्यायको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न राज्यका सबै संयन्त्र जिम्मेवार र जवाफदेही हुनुपर्ने उहाँको भनाइ थियो।

हिंसाले महिलाको शिक्षा, रोजगारी, आयआर्जन र उत्पादकत्वमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै मन्त्री बादीले स्वास्थ्य उपचार, कानुनी सहायता, मनोसामाजिक परामर्श तथा पुनर्स्थापनामा लाग्ने खर्चले व्यक्ति, परिवार र राष्ट्रमाथि दीर्घकालीन आर्थिक भार सिर्जना गर्ने बताउनुभयो। त्यसैले लैङ्गिक हिंसा अन्त्य र न्याय सुनिश्चित गर्न गरिने लगानीलाई खर्चका रूपमा नभई दिगो आर्थिक विकास र समृद्धिका लागि अपरिहार्य लगानीका रूपमा बुझ्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो।

नेपालको संविधानको धारा ३८(३) ले प्रत्येक महिलालाई हिंसाविरुद्धको मौलिक हक सुनिश्चित गरेको तथा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ र मुलुकी अपराध संहिता, २०७४ लगायतका कानुनी व्यवस्था कार्यान्वयनमा रहे पनि कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन, संस्थागत जवाफदेहिता र न्यायमा सहज पहुँच सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको मन्त्री बादीले बताउनुभयो।

सरकारले लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना आर्थिक वर्ष २०८२/८३ देखि २०८७/८८ सम्मका लागि तर्जुमा गरी हिंसाप्रति शून्य सहनशीलता, मानव अधिकारको सम्मान, लैङ्गिक समानता, पीडितकेन्द्रित दृष्टिकोण, अन्तरतह समन्वय र जवाफदेहितालाई प्रमुख आधार बनाएको उहाँले जानकारी दिनुभयो।

उक्त कार्ययोजनामार्फत सबै प्रकारका लैङ्गिक तथा प्रविधिजन्य हिंसाको रोकथाम, हिंसाप्रभावितको तत्काल उद्धार, संरक्षण तथा पुनर्स्थापना, निःशुल्क कानुनी सहायता, द्रुत न्यायिक सुनुवाइ र तीनै तहका सरकारबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राखिएको छ।

त्यसैगरी, लैङ्गिक हिंसा निवारण कोषमार्फत स्थानीय तहमा प्रत्यक्ष बीउ पुँजी हस्तान्तरण, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC), सुरक्षित आवास गृह तथा निःशुल्क कानुनी सहायताको विस्तारमा सरकार क्रियाशील रहेको मन्त्री बादीले बताउनुभयो।

उहाँले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई दिवस र औपचारिक प्रतिबद्धतामा मात्र सीमित नराखी व्यवहारमा परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र तथा सञ्चारमाध्यमबीचको समन्वय र सहकार्यबाट मात्रै हिंसाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो।

न्यायमा ढिलाइ हुनु भनेको प्रभावित व्यक्तिको आर्थिक र सामाजिक भविष्यमा थप क्षति पुग्नु भएको उल्लेख गर्दै मन्त्री बादीले न्यायमा पहुँचका विद्यमान अवरोध हटाउने, लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्ने र हिंसापीडितलाई समयमै न्याय तथा पुनर्स्थापनाको सुनिश्चितता गर्ने विषयमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।

कुनै पनि व्यक्तिले आफ्नो सुरक्षा, न्याय र जीविकोपार्जनमध्ये एउटा रोज्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने स्पष्ट पार्दै उहाँले हिंसाप्रभावितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको सन्देश दिनुभयो।

खबरपाटी
खबरपाटी