बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा प्रसारण प्रणाली प्रभावित

बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा प्रसारण प्रणाली प्रभावित

काठमाडौँ - अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा प्रसारण प्रणाली प्रभावित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौँ क्षेत्रका विद्युत् पूर्वाधारमा बाढी, लाइन फाल्ट, उपकरणमा समस्या र ओभरलोडका कारण आपूर्ति प्रभावित भएको हो।
सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा देखिएको छ। कुस्मा–न्यू बुटवल २२० केभी लाइनमा फाल्ट हुँदा करिब २०० मेगावाट प्रभावित भएको छ। रौघाङ–दाना लाइनका दुवै सर्किटमा समस्या आएपछि करिब १५५ मेगावाट प्रभावित भएको छ।
 
बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका आयोजनाको उत्पादन तथा आपूर्ति पनि प्रभावित भएको छ। पोखरा क्षेत्रका आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमता प्रभावित भएको देखिन्छ।
बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी लाइनमा रुख ढलेर फाल्ट हुँदा विद्युत् आपूर्ति प्रभावित भएको थियो। उक्त लाइन आइतबार बिहान ९ः५१ बजे चार्ज गरिएको छ। चापर–पथलैया १३२ केभी लाइन अवरुद्ध हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गरिएको थियो।
हेटौंडा क्षेत्रमा माण्डु ६६ केभी लाइनमा बाढीका कारण करिब ३२ मेगावाट प्रभावित भएको छ। कावासोती–भारतपुर १३२ केभी लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सीभीटी जलेपछि पनि आपूर्तिमा असर परेको छ। सिमरा सबस्टेसनमा करिब २० मेगावाट तथा अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट आपूर्ति प्रभावित भएको छ।
काठमाडौँमा पाटन र टेकु सबस्टेसनमा आइतबार बिहान ९ देखि ९ः१० बजेसम्म करिब १० मिनेट विद्युत् अवरोध भएको थियो। पाटनमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड हुँदा बाढीका कारण एमआरएसको आपत्कालीन आपूर्ति प्रयोग गरिएको विवरणमा उल्लेख छ।
विभिन्न स्थानमा कावासोतीमा २० मेगावाट, हरदीमा २५ मेगावाट, सुनवल–मैनिया तथा बुटवलका उद्योगमा ५० मेगावाट र सिमरा सबस्टेसनमा २० मेगावाटसम्म लोड कटौती गरिएको थियो। अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट आपूर्ति प्रभावित भएको छ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार विभिन्न उत्पादन, प्रसारण र लोड अवरोध गरी समग्रमा करिब १ हजार ३०३ मेगावाट बराबर प्रभावित देखिन्छ।  

खबरपाटी
खबरपाटी