काठमाडौँ – मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ। राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को वरीयता हेरफेर गरेको जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो।
सत्र सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दोस्रो तथा कानून, न्याय तथा संसदीय मामिला सोविता गौतमलाई तेस्रो बरीयतामा राखिएको छ। गौतम यसअघि सातौँ स्थानमा रहेकी थिइन् ।चौथो स्थानका परराष्ट्रमन्त्री शिशिर खनाललाई चौथो र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई पाँचौ स्थानमा राखिएको छ। मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसैगरी गृहमन्त्री सुधन गुरुङलाई छैटौँ वरीयतामा राखिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई सातौँ वरीयतामा राखिएको छ।
१७ सदस्यीय मन्त्रिपरिषद्मा अन्य मन्त्रीको मर्यादाक्रम भने यथावत् राखिएको छ ।