काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान जारी गरेको छ। बुधबार बिहान जारी गरिएको उक्त पूर्वानुमानमा आगामी तीन दिनमा केही स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने जानकारी दिइएको छ।
महाशाखाका अनुसार, बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति कोसी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग, वाग्मती प्रदेशको पहाडी र तराई भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बिहीबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। कोसी र वाग्मती प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबार राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाका अनुसार, शुक्रबार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशको एक÷दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
शुक्रबार राति देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।