काठमाडौं – जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन जारी छ।
आज सम्पन्न कबड्डी र अन्य व्यक्तिगत विधामा एसियाली पावरहाउसहरूसँगको प्रतिस्पर्धामा नेपाली टिम पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएका छन्। पुरुष तथा महिला कबड्डी टोलीले इरान र पाकिस्तानजस्ता बलियो टिमविरुद्ध कडा टक्कर दिए पनि जित हात पार्न असफल रहे।
पुरुष कबड्डीमा नेपालले आजै भारतसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि नेपाल करातेको महिला टिम काताको कास्य पदक प्रतिस्पर्धामा पराजित भएको छ। सानुमाया थिङ, मेघा लिम्बू, एलिसा रास्कोटी रहेको टोली रिपिचेज प्रतिस्पर्धामा चाइनिज ताइपेसँग ५–० ले पराजित भएको हो।
यस्तै, सफ्ट टेनिसको मिक्स्ड डबल्समा कमल भण्डारी र जर्जिया चौधरी दोस्रो चरणबाटै बाहिरिएका छन्। पौडीमा नेपालका ४ खेलाडी हिट्स चरणबाटै बाहिरिएका छन्।
महिला ५० मिटर ब्याकस्ट्रोकमा १५ वर्षीया आर्या महर्जन, पुरुष ५० मिटर फ्रिस्टाइलमा एर्भिन श्रेष्ठ, महिला २०० मिटर फ्रिस्टाइलमा डुआना लामा, र पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा जेडेन श्रेष्ठ पराजित भए । यस्तै पदकका आशा गरिएका जुडो, बक्सिङ र तेक्वान्दोतर्फ मैदानमा उत्रिएका नेपालका अधिकांश खेलाडी पनि पहिलो तथा दोस्रो चरणकै खेलबाट बाहिरिएका छन्।