काठमाण्डौ – सरकारले साउन १ देखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत गाडी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम शुरू गरेको छ ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम शुरू गरेको मन्त्री लम्सालले बताउनुभयो । यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने मन्त्रालयको विश्वास छ ।
ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सीधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।