संविधान घोषणाको ११ वर्ष पूरा, आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

संविधान घोषणाको ११ वर्ष पूरा, आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं - वर्तमान संविधान घोषणाको ११ वर्ष पूरा भएको छ अर्थात् आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ। सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। 

दिवसका अवसरमा हरेक वर्ष सैनिक मञ्च, टुँडिखेलमा कार्यक्रम हुने गरेको छ। दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि  विभिन्न कार्यक्रमको आयोजना गरिन्छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्।

२०७२ साल असोज ३ गते अर्थात् आजकै दिन संविधानसभाबाट नेपालको संविधान, घोषणा भएको थियो। असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको छ। संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ।

 

खबरपाटी
खबरपाटी