काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्नुभएको छ ।
साथै उहाँले यस्तो अवस्थामा नेपालीबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिले सिङ्गो देश गहिरो पीडामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस कठिन अवस्थामा बाढी प्रभावित व्यक्तिहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्न सबैलाई आह्वानसमेत गर्नुभएको छ ।
दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका शीर्ष नेतालगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।