नेपाल विदेशीहरूको खेलमैदान बन्ने चिन्ता : माधव नेपाल

नेपाल विदेशीहरूको खेलमैदान बन्ने चिन्ता : माधव नेपाल

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण देश ठूलो संकटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्।

शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन  भन्दै चिन्ता व्यक्त गरे। उनले नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठूला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने बताए।

उनले मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संघीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरुकै काँधमा पुगेको जिकिर गरे। गणतन्त्र, संविधान र संघीयता संरक्षण र सुदृढीकरणका सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताए। उनले नेपालको राष्ट्रिय राजनीतिमा नेकपाको महत्वपूर्ण रहेको पनि बताए।

उनले लोकतन्त्र, गणतन्त्र र संविधान र संघीयताको संरक्षणका लागि विचार मिल्ने तथा लोकतन्त्रका लडेका पार्टीहरू एक भएर अघि बढ्नुपर्ने बताए।

नेपालले भने, ‘अहिले देश ठूलो संकटमा छ। विदेशीहरूको चलखेल चलिरहेको छ। राष्ट्रियता संकटमा छ। हाम्रो देश कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? भन्ने चिन्ता छ।’

उनले कृषिको आधुनिकीकरण र यन्त्रीकरणमार्फत कृषि क्रान्ति अघि बढाउनुपर्ने बताए।

खबरपाटी
खबरपाटी