काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा नं.-३१ आलोकनगरमा फालिएको अस्पतालजन्य फोहोरमा प्रमाण खोजेर औषधी उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
महानगरपालिकाका अनुसार यसरी फालिएको फोहोरमा २ वटा कम्पनीको नाम लेखिएका कागज पाइएका थिए। यी कम्पनीमध्ये एउटाको ठेगाना भक्तपुर जिल्ला र अर्कोको ठेगाना टोखा नगरपालिकाको धापासीमा छ।
यी स्थानहरु काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र नपरेकाले महानगर प्रहरी बलले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरमार्फत कारबाही प्रक्रिया अगाडि बढाएको हो।
प्रहरी बलले फोहर मैला व्यवस्थापन ऐन २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिमको कसुर गर्नेलाई काठमाडौँ महानगरपालिकाको कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरेको थियो।
यही अनुरोध पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सम्पर्कमा आएको कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ। प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत झिकाइएको कम्पनीका अधिकारी सम्पर्कमा आइसकेका छैनन्।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र प्रहरी बलको संयुक्त टोलीले अनधिकृत फोहोर फाल्नेहरूमाथि कडा निगरानी थालेको छ। यस क्रममा भेटिने व्यक्तिहरूलाई तत्काल जरिवाना गराउने गरिएको छ।
यस्तै सडक, किनारा तथा सार्वजनिक स्थलमा फालेको फोहरमा प्रमाण खोजेर जथाभावी फोहोर निकाल्नेलाई कारबाही गर्न थालिएको छ। प्रारम्भमा कारवाहीमा परेका व्यक्ति तथा संस्थाको नाम सार्वजनिक नगर्ने तर सोही प्रकृतिको कसुर दोहोरिए नाम ठेगाना सार्वजनिक गरिने योजनामा रहेको जोशीको भनाइ छ।