एनओसी प्रक्रियाबारे भ्रम फैलाए कारबाही हुने शिक्षा मन्त्रालयको चेतावनी

एनओसी प्रक्रियाबारे भ्रम फैलाए कारबाही हुने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौँ - शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनेबारे शैक्षिक परामर्शदाता संस्थाहरूले विद्यार्थीहरूलाई गलत जानकारी दिएर दुस्ख दिएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको छ।
मन्त्रालयले आज बिहीबार सूचना जारी गर्दै गलत सूचना दिए कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
मन्त्रालयका अनुसार एनओसी शाखाबाट एनओसीको लागि आवेदन गर्ने प्रक्रियालाई पूर्णतः अनलाइन तथा डिजिटल माध्यमबाट सरल र सहज बनाइएको छ। साथै एनओसी प्राप्त गर्ने प्रक्रियालाई पनि पूर्णतः अनलाइन तथा डिजिटल माध्यमबाट बनाउन मन्त्रालय तथा एनओसी शाखा निरन्तर प्रयत्नशील छ।
‘एनओसी आवेदन गर्ने तथा प्राप्त गर्ने प्रक्रियाका सन्दर्भमा हालैका दिनमा केही शैक्षिक परामर्श संस्थाहरूले एनओसी प्राप्त गर्न अनिवार्य रूपमा सबै सेवाग्राही आफै कार्यालयमै उपस्थित हुनुपर्ने वा आवेदन प्रक्रियाको गलत सूचना तथा जानकारी प्रवाह गरी सेवाग्राहीहरूलाई अनावश्यक रूपमा कार्यालय पठाउने गरेको र यसबाट भ्रम तथा अनियमिता बढेको भनी विद्यार्थी, अभिभावक तथा सरोकरावालाहरूबाट गुनासो तथा उजुरी प्राप्त भएकोमा यस मन्त्रालय तथा एनओसी शाखाको गम्भीर ध्यानाकर्षण भएको छ,’सूचनामा उल्लेख छ।
त्यसो त मन्त्रालयले सम्पूर्ण सेवाग्राही, शैक्षिक परामर्श व्यवसायी तथा सरोकारवालाहरूलाई विभिन्न प्रक्रिया अपनाउन निर्देशन दिएको छ।
‘एनओसीसम्बन्धी सम्पूर्ण आवेदन प्रक्रिया अनलाइन माध्यमबाट मात्र हुने र यसका लागि सेवाग्राही भौतिक रूपमा कार्यालयमा उपस्थित हुन आवश्यक छैन तर आवेदनपश्चातको एनओसी प्राप्त गर्ने प्रक्रिया अनलाइन तथा भौतिक दुवै माध्यमबाट हुने गरेको छ जुन कुराको जानकारी तथा अनलाइन भौतिक के हुने भन्ने कुरा आवेदन गर्दा भरेको नागरिकता र शैक्षिक योग्यताको सम्पूर्ण विवरण सेन्ट्रल इन्फरमेशन म्यानेजमेन्ट सिष्टममा एक आपसमा मेल खाएको आधारमा जन्ममिति भेरिफाइ हुने विद्यार्थीहरूले मात्र भौतिक उपस्थिति बिनाएनओसी लिन सक्ने त्यस बाहेक अरूले भौतिक उपस्थित हुनुपर्ने जानकारी विद्यार्थीको एनओसी पोर्टलमा नै हुने र यस कुराको स्पष्ट जानकारी शैक्षिक परामर्श संस्थाहरूले विद्यार्थीहरुलाई दिनु पर्नेछ,’सूचनामा उल्लेख छ।
मन्त्रालयले कुनै पनि शैक्षिक परामर्श संस्थाले एनओसीका नाममा गलत सूचना प्रवाह गर्ने, सेवाग्राहीलाई भ्रममा पार्ने वा अनावश्यक भौतिक रूपमा कार्यालय पठाउने जस्ता गैरकानूनी र भ्रामक अभ्यास तत्काल रोक्न सचेत गराएको छ।
‘गलत सूचना फैलाएर अनुचित लाभ लिन खोज्ने वा अनियमितता गर्ने संस्थाहरूमाथि कडा नियामक अनुगमन र कानूनी कारबाही अगाडि बढाइनेछ,’सूचनमा उल्लेख छ।

खबरपाटी
खबरपाटी