काठमाडौं — नेपालमा अटोमोबाइल व्यवसायको संस्थागत विकासको ५० वर्ष पूरा भएको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गर्न लागेको यस संस्करणलाई अहिलेसम्मकै विशेष अटो शोका रूपमा प्रस्तुत गरेको छ। अगस्ट २५ देखि ३० सम्म सञ्चालन हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने मेलामा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधन ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधन ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको सहभागिता रहनेछ। त्यस्तै, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनी सहभागी हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका १० वटा संस्थाको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
नाडाका अनुसार पाँच दशकको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रले उल्लेख्य विस्तार गरेको छ। हालसम्म नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात हुँदा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको तथ्यांक नाडाले सार्वजनिक गरेको छ।
पछिल्लो समय विद्युतीय सवारीसाधनतर्फ बढ्दो आकर्षणसँगै नेपालको अटोमोबाइल बजार हरित गतिशीलतातर्फ समेत अघि बढिरहेको छ। हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिसकेका छन् भने तिनका लागि करिब दुई हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन्।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणलाई नाडाको मात्र नभई समग्र नेपाली अटोमोबाइल उद्योगको पाँच दशकको योगदानको प्रतिबिम्बका रूपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार ५० वर्षको यात्रा कुनै उद्योगको बिक्रीको मात्र नभई त्यसले अर्थतन्त्र र समाजमा पुर्याएको योगदान तथा त्यसको निरन्तरताको मूल्यांकन गर्ने महत्वपूर्ण समय हो।
नेपालको अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार तथा आर्थिक गतिविधि चलायमान बनाउने प्रमुख क्षेत्रका रूपमा विकास गर्न नाडाले निरन्तर भूमिका खेल्दै आएको जनाएको छ।
स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको १८औँ नाडा अटो शोले नेपाली अटोमोबाइल उद्योगको पाँच दशकको यात्रा, वर्तमान अवस्था र आगामी सम्भावनालाई एउटै थलोमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।