मध्यरातमा स्कुटर चढेर सीमा नाकादेखि कोसी अस्पतालसम्म पुगे गृहमन्त्री गुरुङ

मध्यरातमा स्कुटर चढेर सीमा नाकादेखि कोसी अस्पतालसम्म पुगे गृहमन्त्री गुरुङ

विराटनगर - गृहमन्त्री सुधन गुरुङले शुक्रबार राति विराटनगरका विभिन्न संवेदनशील क्षेत्रको आकस्मिक निरीक्षण गरेका छन्। उनी आफैँ स्कुटर चढेर नेपाल–भारत सीमा क्षेत्रको जोगवनी नाका र कोसी अस्पतालको खाली गराइएको जग्गासम्म पुगेका हुन्।

शुक्रबार साँझ करिब ७ बजे विराटनगर विमानस्थलमा अवतरण गरेका गृहमन्त्री गुरुङलाई मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वागत गरेका थिए। विमानस्थलबाट उनी सिधै कोसी प्रदेश प्रहरी कार्यालय पुगेका थिए। त्यहाँ सुरक्षा अधिकारीहरूसँग छलफल तथा खानपानपछि उनले राति नै सीमा क्षेत्रको निरीक्षण गर्ने योजना बनाएका थिए।

‘रानी क्षेत्रतिर जाऊँ’ भन्दै आफैँ स्कुटर चलाएर निस्किएका गृहमन्त्रीको पछिपछि प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनाल, सशस्त्र प्रहरी बलका डीआईजी, मोरङका प्रहरी उपरीक्षकसहितको सुरक्षा टोली लागेको थियो। टोलीले राति नेपाल–भारत सीमा क्षेत्र र जोगवनी नाकाको अवस्थाबारे स्थलगत जानकारी लिएको थियो।

सीमा क्षेत्रको निरीक्षणपछि विराटनगर फर्किएका गृहमन्त्री गुरुङले मध्यराति कोसी अस्पतालको अतिक्रमित जग्गाको पनि अवलोकन गरेका थिए। उक्त जग्गा दुई महिनाअघि मात्रै अतिक्रमणमुक्त गराइएको थियो।

गृहमन्त्रीसहित उच्च सुरक्षा अधिकारीको टोलीले राति अबेरसम्म गरेको आकस्मिक निरीक्षण अहिले विराटनगरमा चर्चाको विषय बनेको छ।

गुरुङ समुदायको संस्था ‘तमु छोंज धिं’को राष्ट्रिय परिषद् भेलामा सहभागी हुन विराटनगर आएका गृहमन्त्रीले सोही अवसरमा सीमा सुरक्षा र सार्वजनिक सम्पत्तिको अवस्थाबारे जानकारी लिएका हुन्।

शनिबार बिहान करिब ९ बजे उनी विराटनगरबाट सुनसरीको धरानतर्फ प्रस्थान गरेका छन्। धरानमा उनको कार्यक्रमबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन। त्यसपछि उनी इटहरी पुग्ने कार्यतालिका रहेको छ।

प्रहरीका अनुसार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे तमु छोंज धिं जिल्ला कार्यसमितिको सहयोगमा आयोजना हुने राष्ट्रिय परिषद् भेलाको उद्घाटन गरेपछि गृहमन्त्री पुनः विराटनगर फर्कने कार्यक्रम छ।

खबरपाटी
खबरपाटी