केन्द्रभन्दा स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै रास्स्वपा अध्यक्ष लामिछानेको चिन्ता

केन्द्रभन्दा स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै रास्स्वपा अध्यक्ष लामिछानेको चिन्ता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केन्द्रभन्दा स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले स्थानीय तहमा बढ्दो भ्रष्टाचारका बारेमा चिन्ता व्यक्त गरेका छन्।

उनले भ्रष्टाचार नियन्त्रणका नाममा गरिने कानूनी कारबाहीले व्यक्तिको सामाजिक प्रतिष्ठा र वृत्तिविकासमा अपूरणीय क्षति पुर्‍याइरहेको बताए। सभापति लामिछानेले अख्तियारले दर्ता गर्ने मुद्दाहरूको सफलतादर न्यून हुनु ‘टिठलाग्दो’ रहेको टिप्पणी गरे।

हालको कानूनी प्रावधानअनुसार मुद्दा दायर हुनासाथ राष्ट्रसेवक कर्मचारी वा जनप्रतिनिधिहरू स्वतः निलम्बनमा पर्ने र अदालतबाट सफाइ पाउँदा वर्षौँ बितिसक्ने हुँदा उनीहरूको व्यावसायिक र पारिवारिक जीवन ध्वस्त हुने उनले उल्लेख गरे। कानून बनाउँदा यी मानवीय र व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

लामिछानेले भ्रष्टाचारको तथ्याङ्कले केन्द्रभन्दा स्थानीय तहमा भयावह अवस्था देखाएको बताए। हाल बहस र अनुसन्धानको अधिकांश समय सिंहदरबार र केन्द्रीय राजनीतिमा केन्द्रित हुने गरेको उल्लेख गर्दै उनले तल्लो तहमा हुने भ्रष्टाचार नियन्त्रणका लागि ठोस योजना आवश्यक रहेको औँल्याए।

लामिछानेले भने, ‘आयोगबाट दायर भएका मुद्दामा सफलता पाएको संख्या निकै न्यून देखिन्छ। विभिन्न तथ्यांकले केन्द्र वा शीर्ष राजनीतिक तहभन्दा स्थानीय तहमा भ्रष्टाचारका घटना बढी रहेको देखाउँछन्।’

उनले भ्रष्टाचार नियन्त्रणका लागि कानूनी सुधारसँगै अन्ताराष्ट्रिय अभ्यासलाई समेत मद्देनजर गर्दै अघि बढ्न समितिको ध्यानाकर्षण गराए।

खबरपाटी
खबरपाटी