नवलपरासी – पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्। लामो खोजीपछि बालक सकुशल भेटिएसँगै परिवार, आफन्त र स्थानीयवासीमा छाएको चिन्ता खुसीमा परिणत भएको छ।
भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्कने क्रममा उनका साढे दुई वर्षीय नाती हराएका थिए। बालक हराएपछि परिवारले स्थानीयवासी तथा सुरक्षाकर्मीलाई खबर गर्दै खोजी सुरु गरेको थियो। अबोध बालक जंगलमा हराएपछि परिवार मात्रै नभई सिंगो गाउँ नै चिन्तित बनेको थियो।
बालकको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी निरन्तर परिचालन भएका थिए। सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस, प्रगतिनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौड्यालको कमाण्डमा १० जनाको टोली खोजीमा खटिएको थियो।
त्यस्तै, इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक भरत थापा क्षेत्रीको नेतृत्वमा सात जनाको टोली पनि बालकको खोजीमा परिचालित भएको थियो।
लगातार तीन दिनसम्म गरिएको खोजीपछि भदौ ४ गते बिहान करिब १० बजे बालक घरदेखि करिब १.५ किलोमिटर उत्तरतर्फ रहेको जंगलमा सकुशल फेला परेका हुन्।
तीन दिनसम्म जंगलमा हराएका बालक सामान्य अवस्थामा भेटिएपछि खोजीमा खटिएका सुरक्षाकर्मी, स्थानीयवासी र परिवारका सदस्य भावुक बनेका थिए। लामो प्रतीक्षापछि बालकलाई काखमा लिन पाउँदा परिवारमा खुसी र राहतको माहोल छाएको थियो।
कठिन परिस्थितिका बाबजुद निरन्तर खोजीमा जुटेका सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासले अन्ततः बालकलाई सकुशल परिवारको जिम्मा लगाउन सफल भएको हो। बालक सकुशल भेटिएपछि तीन दिनदेखि चिन्तामा रहेको परिवारमा अहिले खुसी फर्किएको छ।