मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, प्रसारण लाइन र सबस्टेसन निर्माणलाई उच्च प्राथमिकता

मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, प्रसारण लाइन र सबस्टेसन निर्माणलाई उच्च प्राथमिकता

काठमाडौं - मधेस प्रदेशमा बढ्दो विद्युत् माग, कमजोर वितरण पूर्वाधार तथा औद्योगिक क्षेत्रमा देखिँदै आएको आपूर्ति चुनौती समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइन तथा सबस्टेसन निर्माणलाई तीव्रता दिएको छ।

मन्त्रालयले तत्कालीन विद्युत् माग पूरा गर्नुका साथै उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताबाट आगामी दिनमा थपिने मागलाई समेत धान्न सक्ने गरी प्रसारण संरचना विस्तारलाई रणनीतिक रूपमा अघि बढाएको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशको विद्युत् माग सम्बोधन गर्न विभिन्न प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणको महत्वपूर्ण चरणमा पुगेको बताएका छन्।

मन्त्री श्रेष्ठका अनुसार ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन आयोजना अन्तर्गत करिब २४ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन नो–लोड अवस्थामा सफलतापूर्वक चार्ज भइसकेको छ। हंसपुर नगरपालिका–९ मा निर्माण भइरहेको बालगंगा सबस्टेसनमा उपकरण जडान तथा सिभिल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। उक्त आयोजना दशैंअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

करिब २ अर्ब १३ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाअन्तर्गत ६३ एमभीए क्षमताको १३२/३३ केभी सबस्टेसन निर्माण हुनेछ। आयोजना सञ्चालनमा आएपछि मुजेलिया, यदुकोहा, धनुषाधाम, वीरेन्द्र बजार, लोहना र नगराइनलगायत क्षेत्रको विद्युत् आपूर्ति तथा धनुषाको वितरण प्रणाली थप मजबुत हुने अपेक्षा गरिएको छ।

लहान–सुखीपुर प्रसारण लाइन अघि बढ्दै

सिरहा र सप्तरीमा बढ्दो घरेलु तथा औद्योगिक विद्युत् मागलाई सम्बोधन गर्न लहान–सुखीपुर १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ।

लहान सबस्टेसनदेखि सुखीपुरमा प्रस्तावित १३२/३३/११ केभी सबस्टेसनसम्म करिब १७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ। सुखीपुर सबस्टेसनमा ६३ एमभीएका दुई र २४ एमभीएको एक ट्रान्सफर्मर जडान गर्ने योजना छ।

करिब १ अर्ब ५३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ। सबस्टेसनको सीमा पर्खाल निर्माण र निर्माण अनुमतिपत्र प्राप्त भइसकेको छ भने प्रसारण लाइनका लागि आवश्यक जग्गा अधिग्रहण अन्तिम चरणमा पुगेको छ।

सप्तरीमा रुपनी–बोदेबरसाइन प्रसारण लाइन

सप्तरीमा पनि विद्युत् माग र औद्योगिक सम्भावनालाई ध्यानमा राख्दै रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ।

करिब १८ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरी बोदेबरसाइनमा नयाँ १३२/३३/११ केभी सबस्टेसन स्थापना गरिनेछ। प्रस्तावित सबस्टेसनमा ३० एमभीएका दुई र २४ एमभीएको एक ट्रान्सफर्मर रहनेछन्।

करिब १ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको अध्ययन सम्पन्न भइसकेको र सबस्टेसनको सीमा पर्खाल निर्माण तथा निर्माण अनुमतिपत्र प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ।

रौतहटमा प्रसारण क्षमता बढाइँदै

रौतहटको मध्य तथा दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्न चन्द्रपुर–सुखदेव चोक १३२ केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ।

चन्द्रनिगाहपुर सबस्टेसनदेखि यमुनामाई गाउँपालिका–४, सरुअठामा प्रस्तावित सबस्टेसनसम्म करिब ३७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ। सरुअठामा १३२/३३/११ केभी सबस्टेसन निर्माण गरी ६३ एमभीएका दुई तथा २४ एमभीएका दुई ट्रान्सफर्मर जडान गर्ने योजना छ।

करिब ९३ करोड ८२ लाख ४० हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भइसकेको आयोजनाको निर्माण अवधि ३० महिना तोकिएको छ।

बारा–पर्सा औद्योगिक करिडोरमा उच्च क्षमताको लाइन

बारा–पर्सा औद्योगिक क्षेत्रमा बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न हेटौंडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण लाइन आयोजनालाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।

परवानीपुरदेखि पोखरियासम्म २१.२१ किलोमिटर लामो १३२ केभी चार सर्किट प्रसारण लाइन निर्माण, पोखरियामा नयाँ १३२/३३/११ केभी सबस्टेसन स्थापना तथा परवानीपुर सबस्टेसनमा बे विस्तार आयोजनाका प्रमुख काम हुन्।

यसअघि पिलुवा–परवानीपुर १३२ केभी डबल सर्किट लाइनमा हाई टेम्प्रेचर लो स्याग कन्डक्टरमार्फत पुनःकन्डक्टरिङको काम सम्पन्न भइसकेको छ। पोखरिया सबस्टेसनमा कन्ट्रोल रुम, कर्मचारी आवास, स्टोर, गार्ड हाउस तथा उपकरण र ट्रान्सफर्मरका फाउन्डेसन निर्माण भइरहेका छन्।

आयोजनाको बोलपत्र प्रक्रिया सम्पन्न गरी चिनियाँ कम्पनीसँग निर्माण सम्झौता भइसकेको छ। उक्त आयोजना सन् २०२७ सेप्टेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

मन्त्रालयका अनुसार यी आयोजना सम्पन्न भएपछि मधेस प्रदेशको विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बन्नुका साथै औद्योगिक विस्तारका लागि आवश्यक ऊर्जा पूर्वाधारसमेत बलियो हुने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी