सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग १ करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग १ करोड धरौटी माग

काठमाडौं - सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग विशेष अदालतले एक करोड धरौटी माग गरेको छ ।

गोल्छा बयानका लागि मंगलबार विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयान र थुनछेक बहस सकिएपछि धरौटी माग भएको हो ।

यसअघि गोल्छासँग जिल्ला अदालत काठमाडौंले पनि बिमा सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितो पत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

गोल्छा जोडिएको उक्त मुद्दामा दीपक भट्ट, शुलभ अग्रवालसहित ३४ जना व्यक्ति र ५ वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको यस मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । गोल्छा अदालतले मागेको धरौटी रकम बुझाएर तारिखमा बस्ने तयारीमा छन् ।

भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ । अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १ सय २४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ ।

खबरपाटी
खबरपाटी