इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजना अस्वीकार गर्नुभएको छ ।
उहाँले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हिजो बसेको इजरायली मन्त्रिपरिषद् बैठकमा नेतान्याहुले इजरायलले १५ बुँदे दस्तावेज अस्वीकार गरेको बताउनुभएको छ ।
ट्रम्पको ‘बोर्ड अफ पिस’ले गएको महिना गाजामा हमास र अन्य सशस्त्र समूहको ‘पूर्ण निःशस्त्रीकरण’ गर्ने सहमति भएको जनाएको थियो । तर हमासले भने इजरायलले सबै प्रकारका सैन्य कारबाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ ।
हमासका एक अधिकारीले आफूहरू १५ बुँदे योजनाप्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढंगले छलफल गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ ।
ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निःशस्त्रीकरण, इजरायली सेनाको चरणबद्ध फिर्ती, गाजाको पुनर्निर्माण र सम्झौता कार्यान्वयनको निगरानीका लागि ‘बोर्ड अफ पिस’ गठन गर्ने प्रस्ताव गरिएको थियो । तर इजरायलभित्रै ट्रम्पको योजनालाई लिएर असहमति देखिएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणमा झण्डै १ हजार २ सय मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही शुरु गरेको थियो । राष्ट्रसंघका अनुसार युद्ध शुरु भएयता गाजामा झण्डै ९० प्रतिशत अर्थात् १९ लाख मानिस विस्थापित भएका छन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीमा ७३ हजारभन्दा बढी मानिसको ज्यान गईसकेको छ ।